काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बेठकले संसद अवरोध सही भएकाले जारी रहने निर्णय गरेको हो ।
बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक हितराज पाण्डेले माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धलाई हिंसाको रुपमा अपमानित गरिएकाले हिंसा शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसद अवरोध जारी रहने बताए । उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संसदमा सो विषयमा माओवादीले लिएको अडान सही रहेको बताएको पनि जानकारी दिए ।
उनले काठमाडौं उपत्यका नदी किनारको बारेमा सरकारले पुनरावलोकनमा जानुपर्ने निर्णय गरेको बताउँदै उपसभामुखले प्राविधिक रुपमा केही विषयवस्तुहरु गल्ती गरेको भएपनि अहिले संवैधानिक परिषद्का लागि हटाउन लागिएको भन्दै यसबारेमा माओवादीले प्रतिवाद गर्ने निर्णय भएको बताए ।
उनले भने, ‘हामीले संसद अवरोध गरिरहेका छौँ । माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्ध थियो, त्यसलाई अपमान गर्नेगरी, हामीले जो शान्ति प्रक्रियामा जो विषयवस्तु उल्लेख गरेर अघि बढिरहेका छौँ । शान्ति प्रक्रियामा जे विषयवस्तु उल्लेख गरेका छौँ । यि सबैबाट हामीले संविधानमा जसरी सबैकुरालाई इंगित गरेका छौँ ।’
‘सम्माननीय सभामुखज्युले त्यसको बारेमा रुलिङ पनि गर्नुभएको थियो । त्यसको जवाफ जसरी अस्ति २६ गतेको बैठकमा आयो, त्यसमा एउटा शब्द हिंसालाई मात्रै केन्द्रित गरेर आयो । हामीले हिंसा शब्दलाई मात्रै निरपेक्ष रुपमा होइन, हामीलाई अपमानित गरेकोमा प्रतिवाद गरेर जान्छौँ’ उनले भने ।
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति मायाप्रसाद शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्