काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले राजश्व संकलनको प्रगतिका आधारमा राजश्व सचिव र भन्सार विभागका महानिर्देशकको मूल्यांकन गर्ने घोषणा गरेका छन् । भन्सार विभागमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अर्थतन्त्रलाई सहि दिशामा हिडाउनका लागि राजश्व संकलनमा व्यापक सुधार आवश्यक रहेको र त्यसकै आधारमा सचिव, महानिर्देशक र भन्सारका कर्मचारीहरुको मूल्यांकन गर्ने बताएका हुन् ।
‘मेरो महानिर्देशक र उपमहानिर्देशकसंग केहि अपेक्षा छ । सेवाग्राहीलाई दु:ख नदिने । गल्ती गर्नेलाई छुट नदिने । गल्ति गर्नेलाई कानुन मुनासिव मात्रै काम गर्ने । राजस्वको लक्ष्यमा चुक्नु भयो भने मुल्यांकन सोही आधारमा हुन्छ । सचिव र महानिर्देशकलाई भनेको छु, सरुवा र बढुवाको कुरा लिएर कोहि पनि आउनु नपरोस् । मैले राजस्व सचिवलाई भनेको छु । तपाईंको सफलता–असफलता राजस्व संकलन निर्धारणले तय गर्छ ।’मन्त्री पौडेलले भने ।
उनले कतिपय अवस्थामा राजश्व संकलनले लक्ष्य नाघ्ने सम्भावना पनि रहने भएकाले गतवर्षको आधारमा तुलना गरेर चित्त बुझाएर नबस्न पनि सचेत गराए । उनले भन्सारका कर्मचारीहरुलाई पुराना सम्बन्धहरु बिघटन गर्न चेतावनी पनि दिए ।
भन्सारको वर्गीकरणलाई सान्दर्भिक बनाउनु होला । पुराना सबन्ध विघटन गरिदिनुस । फेसलेस कन्ट्याक्लेस र पेपरलेस प्रभावकारी बनाउनुपर्छ । भन्सारका कर्मचारीलाई आरोप लाग्ने गरेको छ । त्यो आरोपलाई म खण्डन गर्न चाहान्छु । म खाटा बसिसकेको घाउ बल्झाउन चाहान्न । भन्सार कार्यालयलाई दुरुपयोग गर्न संभव छैन ।’ मन्त्री पौडेलले भने । उनले एउटै प्रज्ञापन पत्रबाट पटक पटक समान आयात हुने गरेको सूचना आफुले पाएको र अब त्यस्तो नगर्न पनि कर्मचारीलाई सचेत गराए । ‘भन्सार विन्दुमा स्क्वानरको व्यवस्था गर्नुपर्छ । एकै प्रज्ञापन पत्रबाट एक दिनमा अनेक पटक सामान आउने–जाने भएको मैले सुनेको छु । यो गल्तीलाई दोहोरिन नदिनु होला ।’, मन्त्री पौडेलले कर्मचारीलाई सचेत गराउँदै भने ।
उनले सेवाग्राहीलाई दु:ख नदिन पनि कर्मचारीलाई आग्रह गरे । ‘सेवाग्राहीलाई दु:ख नदिनुस्, उहाँहरुको समस्यामा सहजीकरण गरिदिनुस्, छली गर्ने लागेको फेला परे कानुन अनुसार कारवाही गर्नुस् ।’ मन्त्री पौडेलले दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस्