काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सभामुखले गरेको रुलिङप्रति आपत्ति जनाउँदा प्रतिनिधि सभा बैठक आगामी आइतबारसम्म धकेलिएको छ । गत भदौ १२ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेको भन्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माओवादी केन्द्रले माग गरेको थियो ।
सभामुखले आवश्यक अध्ययन गरेर निर्णय लिन भन्दै सचिवालयलाई निर्देशन दिएका थिए । सोही विषयको सन्र्दमा बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसदको रेकर्डबाट नहट्ने रुलिङ गरेका थिए ।
सो रुलिङ संविधान विपरित भएको भन्दै माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका हुन् । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले रुलिङको बिरोध गर्ने बताए । संविधान विपरित हिंसा शब्द प्रयोग भएको भन्दै आफूहरुले त्यसलाई नमान्ने बताए ।
लगत्तै नेकपा (एमाले) का सांसद रघुजी पन्तले हिंसा शब्द आफैँमा असंसदीय नभएको बताए । उनले संसदमा कसैलाई व्यक्ति किटेर भन्न भने नपाइने बताए । उनले सभामुखले संविधान र कानूनसम्मत रुलिङ गरेको भन्दै रुलिङलाई मानेर अघि बढ्नुपर्ने बताए ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सभामुखको रुलिङप्रति माओवादी केन्द्रको गम्भीर आपत्ति रहेको बताए । उनले सो शब्द सच्याउन माग गरे ।
यसरी माओवादी केन्द्रले सभामुखको रुलिङप्रति असन्तुष्टि व्यक्त गर्दा प्रतिनिधि सभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्