काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले दशैँ लगायतका चाडपर्वमा यातायात आवागमनमा समस्या नहुने गरी सडक पूर्वाधार मर्मतको काम सुरु गरेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले दशैको बेलामा सडक यातायातमा हुने चापलाई मध्यनजर राखेर दुई तरिकाबाट सरकारले बाटो मर्मत गरिरहेको बताए । उनले नियमति रुपले बनाउने सडक पूर्वाधरसँगै वर्षातको कारणले सडकमा भएका खाल्डाखुल्डी पुर्नेगरी सडक मर्मतको काम अघि बढेका उल्लेख गरे ।
उनले संघीय सरकारको मातहतमा रहेका राष्ट्रिय र रणनीतिक सडक मर्मतका लागि ठेक्का लागेर काम भइरहेको जानकारी दिए । उनले संघीय सरकारको मातहतमा रहेका देशभरमा सडकहरुमध्ये ५ हजार किलोमिटर सडक मर्मत अघि बढेको उल्लेख गरे ।
उनले निर्माणधिन बाटोमा पनि सहज आवागमन गराउने कुरामा सरकार गम्भिर भएर लागेको जानकारी दिए । उनले निर्माणधिन सडकमा सहज यातायात आवागमनको लागि निर्माण कम्पनीको जिम्मेवारी भएकाले निर्माण कम्पनीलाई कडाइका साथ निर्देशन दिएको बताए । उनले सडक सुरक्षा ऐन अहिलेसम्म नबनेकाले कानून बनाउन सरकार लागेको बताए ।
मन्त्री दाहालले रुग्ण आयोजनाहरुको काम अघि बढाउनको लागि सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाएर काम भइरहेको जानकारी दिए । उनले निर्माण व्यवसायहरुसँग अध्ययन गर्ने भनि सरकार र निर्माण व्यवसायी महासंघले निकालेको निष्कर्षका आधारमा रुग्ण आयोजना अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताए ।
प्रतिक्रिया दिनुहोस्