Shikhar Insurance
National Life

सरकार परिवर्तनको खेल सुरु भएपछि उपसभामुख कार्ड खेल्दै केपी ओली

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १६:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । आफू नेतृत्वको सरकारको विकल्पबारे छलफल सुरु भएको सूचना पाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले उप-सभामुख कार्ड फ्याँकेका छन् । छठ अघि नै सरकार परिवर्तन गरि २०७९ को चुनावी गठबन्धनलाई ब्युताउँने कसरतले मुर्त रुप लिएको सूचना पाएसँगै ओलीले सत्ता गठबन्धनलाई बलियो बनाउने उदेश्यले उपसभामुख कार्ड खेल्न सुरु गरेका हुन् ।

स्रोतका अनुसार काँग्रेस सभापति शेर बहादुर देउवा वा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरि चुनावी गठबन्धन ब्युताउनेबारे छलफल भैरहेको छ । ओली सरकारमा रहेका काँग्रेसका मन्त्रीहरुले नै पनि आफूहरु प्रधानमन्त्रीको छायाँमा परेको गुनासो गर्न थालिसकेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसो त ओली नेतृत्वको सरकारलाई भारत र चीन दुबैले खासै भाउ दिएका छैनन् । सरकार ढाल्ने गरि केहि गतिविधि अघि बढेको सूचना पाएपछि प्रधानमन्त्रीले ओलीले सोमबार सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक बोलाए । बैठकले सत्ता गठबन्धनलाई थप बलियो बनाउने औपचारिक निर्णय गरेको सन्देश बाहिर पठाईयो । दुई तिहाई बहुमतमा रहेको सरकारका प्रधानमन्त्रीले सत्तारुढ दलहरुको संयुक्त बैठक डाकेर गठबन्धनलाई थप बलियो बनाउने निर्णय गराएको सन्देश बाहिर जाने बित्तिकै गठबन्धनमा ठूलै समस्या आईसकेको अड्कल बाजी अहिले भैरहेका छन् ।

तर सोमबारको बैठकमा प्रधानमन्त्रीले अकस्मात एउटा प्रस्ताव अघि सारे, त्यो थियो उपसभामुख इन्दिरा रानाको बहिर्गमन । ओलीले उपसभामुख इन्दिरा रानालाई हटाएर नेपाली काँग्रेसबाट उपसभामुख नियुक्त गर्ने प्रस्ताव अघि सारे । ओलीको प्रस्तावबाट चकित बनेका काँग्रेस सभापति देउवाले त्यसलाई अस्विकार गर्ने कुरै भएन् । किन की अहिलेको संवैधानिक परिषदमा काँग्रेसका कोहि पनि प्रतिनिधी छैनन् । ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधिश र प्रतिनिधी सभाको सभामुख र उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य छन् ।

संवैधानिक परिषदमा प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र उप सभामुख इन्दिरा रानासहित तीन जना ओलीको विपक्षमा छन् ।

ओलीले आफू संवैधानिक परिषदमा बहुमतमा नरहेको र काँग्रेसलाई उपसभामुख दिने आश्वासन दिएर सत्ता गठबन्धनलाई जोगाउने प्रयास गरेका हुन् । काँग्रेससहित सत्ता गठबन्धन आवद्ध दलहरुले उपसभामुख विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेमा काँग्रेस–रास्वपाबिचको दुरी अझै बढ्नेछ । जसले सम्भावित वैकल्पिक गठबन्धन बन्नबाट रोक्न सक्ने ओलीको प्रक्षेपण रहेको स्रोत बताउँछ । ‘माओवादी, रास्वपा, राप्रपा, एकिकृत समाजवादी, उपेन्द्र यादवको जसपा लगायतले दलहरुले काँग्रेस–माओवादीलाई पुन: एउटै गठबन्धनमा ल्याउन प्रयास गरिरहेका थिए । त्यसलाई रोक्न एमालेले उपसभामुख पत्ता अघि सार्यो । अब काँग्रेस र रास्वपाबिचको दुरी अझै केहि बढ्ने देखिन्छ ।’, स्रोतले सिंहदरबारसँग भन्यो ।

पछिल्लो समय ओली नेतृत्वको सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरुले नै पनि ओलीसँग काम गर्न अप्ठेरो भएको ब्रिफिङ देउवालाई गरिरहेको स्रोत बताउँछ । ‘अहिले काँग्रेस पनि सरकारमा छ र ? भन्ने जस्तो अवस्था छ, काँग्रेसका मन्त्रीहरुले पनि आफूहरुलाई सरकारमा रहेको भान हुनै नपाएको बताउन थालेका छन्, ओलीसँगको सहकार्यले काँग्रेसमा सोफोकेशन उत्पन्न भैरहेको देखिन्छ ।’, स्रोतले भन्यो ।

आफ्नो विकल्पमा पुन: अर्काे गठबन्धन बन्ने माहोल खडा हुँदै गएपछि ओलीले उपसभामुख कार्ड फ्याँकेर सम्भावित वैकल्पिक गठबन्धन टार्न प्रयास गरेका हुन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्