Shikhar Insurance
National Life

सुपर न्यादी जलविद्युत आयोजनाको म्याद सकियो, आयोजना सम्पन्न भएन

सिंहदरबार संवाददाता
२०८१ भाद्र २४, सोमबार १३:३५
Hyundai
NCELL
NIMB

लमजुङ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ ङादीखोलामा निर्माणाधीन ४२.६० मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनाको म्याद सकिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन ।

आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपीए) अनुसार दुई वर्षभित्र अर्थात् (२०८१ असारभित्र) विद्युत उत्पादन सुरु गरिसक्नुपर्ने थियो । तर अझै करिब २० प्रतिशत निर्माण कार्य बाँकी रहेको छ । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि एक वर्ष म्याद थप गर्दै आगामी २०८२ असार महिनासम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाका प्रबन्धक निर्देशक दिनेश गुरुङले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले निर्धारित समयमा काम सम्पन्न गर्ने गरी अघि बढेको उक्त आयोजना कोरोना महामारीका कारण सम्पन्न गर्न समय लागेको बताए । एक दिनमा हुने काम सात दिन लाग्ने, सामग्री ढुवानी गर्न समस्या, कामदार आउन समस्या, २२० केभी प्रसारण लाईनको ट्रान्समिसन लाईन सम्पन्न नभएका कारणले निर्माणमा ढिलाइ भएको प्रबन्धक निर्देशक गुरुङले बताए ।

आयोजनाको विद्यृत गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सम्पन भएको छ । विद्युत गृह निर्माणका लागि ३८७ मिटर सुरुङ मार्ग निर्माण गर्ने, भूमिगत विद्युत् गृह खन्ने, सुरुङका लागि दुईवटा अडिट टनेलसहित पाँच सय मिटर खन्ने लगायतका काम सम्पन्न भइसकेका छन् । साथै बाँधसम्मको २२ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको प्रबन्धक निर्देशक गुरुङले बताए ।

आगामी असोज १ गते ८ किलोमिटरको सुरुङ पनि ब्रेक थ्रू हुने तयारीमा रहेको छ । पेनस्टक र विद्युत् गृहको काम अन्तिम चरणमा पुगेको छ । जी एण्ड जी इन्फ्र प्राइभेट लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनामा एनएमबी बैंकको अगुवाइमा ६ वटा वित्तीय संस्थाले ५ अर्ब २५ करोड ऋण लगानी गरेका छन् । प्रवद्र्धकको स्वपुँजी १ अर्ब ७५ करोड रहने छ ।

उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवद्र्धकको २५ प्रतिशत रहने आयोजनाले जनाएको छ । करिब रु सात अर्ब लागतमा निर्माणकार्य सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । समयमै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रबन्ध निर्देशक गुरुङले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिने भएको छ । सबस्टेसनसम्मको प्रसारण लाइनमध्ये करिब ६ किलोमिटर आयोजनाले नै निर्माण गर्ने भएको छ । आयोजनाका अनुसार वर्षातको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा आठ रुपैयाँ ४० पैसाको दरले विद्युत खरिदबिक्री गर्ने भएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्