काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन् ।
आईतबार पार्टी केन्द्रिय कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताएका हुन् ।
उनले खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरुको सम्मान गर्न सक्नुपर्ने बताए । उनले नेपाली काँग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गरे ।
सभापती देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको काँस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवद्र्धनको प्रशंसा गरे ।
उनले भने, ‘पलेशा गोवद्र्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई काँस्य पदक जिताउनु भयो । नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको काँस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको छ । खेलकुद क्षेत्रको विकासका लागि नेपाली काँग्रेस सदैव सहयोग गरिरहेको छ । नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्छ ।’
नेपाली काँग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई पाँच लाख नगलसहित सम्मान प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्