Shikhar Insurance
National Life

बागलुङमा अलैँची जोन बनाउने तयारी

सिंहदरबार संवाददाता
२०८१ भाद्र १७, सोमबार १६:२३
Hyundai
NCELL
NIMB

बागलुङ । जिल्लाका किसानले ११ पकेट क्षेत्र र तीन वटा ब्लक क्षेत्रका तीन सय हेक्टरमा व्यावसायिक अलैँची उत्पादन गरिरहेका छन् । उक्त तथ्याङ्कको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ अलैँची जोन बनाउने तयारी गरेका हुन् ।

परियोजनाले पहिलो चरणमा बागलुङको ३ सय हेक्टरबाट जोनको तयारी गरेको हो । अधिकतम पाँच सय हेक्टर क्षेत्रफल पुर्‍याउने लक्ष्यका लागि परियोजनाले पर्वतका केही क्षेत्रलाई पनि समेट्ने छ । बागलुङको जैमिनी नगरपालिका, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा गलकोट क्षेत्रमा व्यावसायिक अलैँची उत्पादन हुनेगर्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पर्वततर्फ मोदी गाउँपालिका र फलेबास नगरपालिकाको उत्पादनलाई पनि जोनमा समावेश गर्ने परियोजनाको लक्ष्य छ । ‘पहिलो चरणमा बागलुङकै तीन सय हेक्टरलाई जोनको रुपमा विकास गर्छौँ, त्यसपछि क्रमश: क्षेत्रफल थप्दै जाने हो’ परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत नारायण पौडेलले भने ‘उत्पादन र बजारीकरण सुधार हुँदै गएकाले जोनको अवधारणामा पुग्यौँ । परियोजनाको सिफारिसमा मन्त्रीस्तरीय निर्णयपछि जोनको काम कार्यान्वयनमा आउने छ ।’ हाल पकेट र ब्लकमा आवद्ध किसानको खेतबारीमा पुगेर अलैँची उत्पादन बढाउने भइरहेको छ ।

तत्कालीन कृषि विकास कार्यालयले सामान्य उत्पादन र बजारीकरणमा साथ दिएपनि हाल परियोजनामार्फत अलैँचीको क्षेत्र विस्तार भएको हो । पौडेलका अनुसार, हाल बागलुङबाट ३० मेट्रिकटन अलैँची विदेश निर्यात भइरहेको छ । त्यसबाहेक केही देशभित्रै बिक्री भएको हो । उत्पादनको ८० प्रतिशतबढी अलैँची निर्यात हुने गरेको हो । उपभोग गर्दा बागलुङमा हाल ४० मेट्रिक टनबढी अलैँची उत्पादन भइरहेको हो ।

झापाको विर्तामोडबाट आउने व्यापारीले गाउँबाट अलैँची सङ्कलन गरेर लैजाने गरेका हुन् । व्यापारी किसानको बारीमै आउँदा पनि प्रतिकेजी न्यूनतम एक हजार पाँच सयदेखि दुई हजार एकसयसम्म मूल्य तिरेका छन् । कतिपय किसानले त आफै बिक्री गरेर चार हजार प्रतिकेजीसम्म पार्ने गरेका हुन् ।

हिउँदमा लामो खडेरी पर्दा उत्पादनमा कमी हुने र केही रोग लाग्ने गरेका छन् । तर, ती समस्यालाई परियोजनाले तत्काल सम्बोधनको तयारी गरेको हो । कतिपय किसानले भने बजार कता पाइन्छ भनेर अन्यौल हुँदा क्षेत्र बढाउन नसकेको गुनासो गरेका छन् । परियोजनाको साथ र सल्लाह पाएमा उत्पादन बढाएर जाने गलकोट नगरपालिका–१ का किसान नेत्र बुढाथोकीले बताए ।

दुई वर्षअघि जैमिनीका किसानको बारीमा लगाएको अलैँची कुहिएको थियो । परियोजनाले तत्काल औषधि उपचार गराएपछि जोगाउन सकेका थिए । ‘जैमिनीमा मात्रै वर्षमा दुई सय ५० क्विन्टल अलैँची बिक्री हुने गरेको छ’, कृषि प्राविधिक प्रकृति शर्माले भने , ‘बजारको सुनिश्चित गर्न सके अझै उत्पादन बढ्नेछ ।’ बरेङका किसानले पनि अलैँचीको राम्रो उत्पादन लिएको स्थानीय यामबहादुर थापाले बताए । बरेङमा अलैँचीबाट मात्रै वर्षमा एकदेखि तीन लाखसम्म कमाउने किसान धेरै छन् । ताराखोला गाउँपालिकामा पनि झण्डै दुई सय हेक्टर बढीमा अलैँची लगाइएको छ ।

अलैँचीमा समस्या आयो भने तत्काल उपचार गरेमा क्षति न्यूनीकरण गर्न सकिने वरिष्ठ कृषि विकास अधिकृत पौडेलले बताए । अत्यधिक गर्मी बढ्ने र सिँचाइको अभाव भएका गानो मर्ने गरेको हो । गत हिउँदमा लामो समय खडेरी लागेकाले त्यस्तो समस्या देखिएको हुनसक्ने भन्दै पौडेलले चालु आर्थिक वर्ष एक दर्जनभन्दा बढी सिँचाइका योजना पनि सञ्चालन गर्न बजेट व्यवस्था गरिएको बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्