काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीको सही ढंगबाट छानबिन नगरेर तत्कालित पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपा (माओवादी केन्द्र) का शिर्ष नेताहरु जोगाउने काम गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सही ढंगबाट छानबिन भएको भए माओवादीका शिर्ष तहका कुनैपनि नेता बाँकी नरहने बताए । उनले सुशासनको ठूला ठूला कुरा गर्ने तर बालुवाटारको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्न नसकी उन्मुक्ति दिने काम गरेको बताउँदै गणतन्त्रपछिका ८ वर्ष उर्जा मन्त्रालयको नेतृत्व माओवादीले नै लिएको भन्दै सो अवधिमा किन वक्यौता नउठाएको भन्दै प्रश्न गरे ।
उनले भने, ‘हिजोको सरकारतिर फर्किएर प्रश्न गर्न मन थिएन । तर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जुन प्रश्नहरु संसदमँ तेर्साउनु भयो । त्यसलाई हामीले टुलुटुलु हेरेर बस्न सक्दैनौँ । म ट्रंक लाइन र डेडिकेटेड लाइनमा राज्यले लिनुपर्ने २२ अर्ब वक्यौता उठाउने पक्षमा थिएँ । अहिलेको सरकारले त्यो उठाउन दिएन भन्ने प्रकारले हिलो छ्याप्ने कोशिस गर्नुभयो । तपाईंहरुले उर्जा मन्त्रालय सम्हालेको पछिल्लो ८ वर्ष भयो । निरन्तर ८ वर्ष उर्जा मन्त्रालयको नेतृत्व गरिरहँदा किन आजसम्म वक्यौता उठाउन चाहनु भएन । किन वक्यौता उठाउनेतिर लाग्नु भएन ।’
‘उद्योगी, व्यापारीहरुले तिर्नुपर्ने बिल कति हो टिओडी मिटरअनुसार भन्नेकुरा आज पनि दिन सकेको छैन । किन प्राधिकरणले दिन चाहँदैन । सुशासनको कुरा गर्नुभयो । ललितानिवासको जग्गालाई व्यक्तिका नाममा सुम्पने हर्कत गर्ने मानिसलाई कारबाहीको दायरामा ल्यायौँ भन्नुभयो । अनुसन्धानको दायरामा ल्याइ कारबाही अघि बढाउन भनेको थियो, सर्वोच्च अदालतले तर पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको बैठक बोलाएर हामी अनुसन्धान गर्न सक्दैनौँ भनेको होइन । जनताको आक्रोश थेग्न नसकेपछि घरघरमा सिआइबी पठाएर अनुसन्धान गर्न खोजेको जस्तो गरी उन्मुक्ति दिने काम गरेको हो की होइन ?’ उनले भने ।
उनले आफूले ट्रंक लाइन र डेडिकेटेड लाइनको वक्यौता उठाउन नसक्ने अनि वर्तमान सरकारलाई हिलो छ्याप्ने काममा नलाग्न चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्