काठमाडौं । नेकपा(एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ वक्यौता रकम नउठाउनेहरुप्रति छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका छन् ।
बिहिबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले यस्तो बताएका हुन् । उनले सार्वजनिक लेखा समितिको निष्कर्ष पनि २२ अर्ब रुपैयाँ नै उठाउनुपर्छ भन्ने रहेको बताउँदै लेखा समितिलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने हो भने शक्तिशाली संसदीय छानविन समिति गठन गर्नुपर्ने बताए । उनले प्राधिकरणको नेतृत्वमा ७ वर्षदेखि एउटै व्यक्ति भएको भन्दै प्राधिकरणको अन्य कुराहरु पनि हेर्नुपर्ने बताए ।
उनले भने, ‘लेखा समितिको निष्कर्ष के हो भने २२ अर्ब रुपैयाँ महालेखा परिक्षकले बेरुजु देखाएको छ । त्यो पैसा उठ्नुपर्छ । हामीले भनेको त्यही हो । त्यो पैसा उठाउने जिम्मेवारी जसको छ, त्यो पैसा किन उठेन भनेर हामीले भनेको हो । पैसा उठाउने जिम्मेवारी लिएकोले पनि उठाएको देखिदैन । लेखा समितिले स्वतन्त्रतापूर्वक काम गर्न पाउँदैन भने छानविन समिति बनाउनुपर्छ । यो अहिले बनेको सरकार यो भन्दा गतिलो संख्या पुग्दैन । यो संख्याप्रति जनताको आशा छ, विश्वास छ । यो समिकरणप्रति जवाफदेहिता पनि छ । प्रचण्डजीले अर्को पनि भन्नुभयो, उहाँले धम्किपूर्ण प्रेमगीतको सुसेली हाल्नुभयो । म कहाँ नआउ है भनेर । कोही पनि आउनेवाला छैन । भ्रममा नपर्नु । एक्लै लड्नु । भनेकै त्यही हो ।’
सांसद बाँस्कोटाले वर्तमान सरकारप्रति जनताको आशा भएको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि आफूलाई खोज्दै नआउन भनेको भन्दै दाहाललाई खोज्न कोही नआउने बताए । उनले दाहाललाई कोही खोज्न आउने भ्रममा नपर्न आग्रह समेत गरे ।
प्रतिक्रिया दिनुहोस्