सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन वर्तमान सरकार गठन भएको बताएकी छिन् ।
धनगढीस्थित आफ्नै निवासमा आज नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले बेथिति एवं सङ्कटको समाधान गरी देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन दुई ठूला प्रतिस्पर्धी पार्टी मिलेर सरकार गठन गरेको स्पष्ट पारेकी हुन् । स्थायी सरकारमार्फत विकासको लक्ष्यमा पुग्ने सङ्कल्प लिएर वर्तमान सरकार गठन भएको उनले स्पष्ट पारिन् ।
मन्त्री राणाले भनिन्, ‘दुई ठूला पार्टी मिलेर सरकार गठन गरेको भनेर कतिपयले अनौठो मानेका छन्, जब देशमा सङ्कट र बेथिति आउँछ, त्यतिबेला कांग्रेस र एमाले मिलेर सरकार गठन गरेर समस्या समाधान गरेको इतिहास छ ।’ राज्य सञ्चालनका क्रममा देखिएको बेथितिको अन्त्य गरेर विकासका लागि गर्नुपर्ने काम अहिलेको सरकारले गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
अस्थिरताकै कारण मुलुकमा सरकारले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै मन्त्री राणाले सबै देशले नेपाललाई पर्याप्त सहयोग गर्न चाहेको बताइन् । कांग्रेस र एमालेको सरकार २०८४ सालसम्म नै टिक्ने उनको भनाइ थियो । मन्त्री राणाले भनिन्,’नेपालको संविधानको मूल मर्म र भावनालाई परिवर्तन नगरेर सरकारले संविधानको ‘रिभ्यू’ गर्नेछ ।’
संविधान शान्तिको दस्तावेजका रुपमा लिइएकाले संविधानमा विविधता, समावेशिताजस्ता कुरामा परिवर्तन नहुने उनले बताइन् । आफ्नो हालैको भारत भ्रमणका क्रममा भारतसँग महाकाली नदीमाथि बैतडीको झुलाघाट नाकामा र डडेल्धुराको परशुराममा पक्की पुल निर्माण गर्नेबारे कुरा भएको जानकारी दिइन् ।
उनले भनिन्, ‘धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला बनाउन भारतीय पक्ष सकारात्मक छ, भारतका परराष्ट्रमन्त्रीले पनि यसबारे बिसिसिआई (भारतीय क्रिकेट कन्ट्रोल बोर्ड)सित कुरा गर्नुभएको छ ।’ गौरीफन्टा नाकाको स्तरोन्नति तथा टनकपुर बाँधबाट सिँचाइका लागि पानी छाड्ने विषयमा समेत भारतीय पक्षसँग छलफल भएको मन्त्री राणाले बताइन् । इजरायलमा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि सरकारले गम्भीर रुपमा पहल गरिरहेको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्