काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमा रकमको सीमालाई बढाएर ५ लाख रुपैयाँ पुर्याइने बताएका छन् । बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले अहिले प्राप्त बीमा सेवा व्यवस्थित नरहेकाले मन्त्रालयले त्यसबारेमा आवश्यक पहल लिइरहेको बताए । उनले बीमा रकमको सीमालाई बढाएर ५ लाख रुपैयाँ पुर्याइने बताए । स्वास्थ्य मन्त्रालयले बीमाको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्याउने घोषणा गरेको बताउँदै सो घोषणालाई सरकारको नीति बनाउने बताए । उनले स्रोत जुटाउनका लागि सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधालाई एकीकृत ढंगबाट बीमामा समायोजन गर्नु जरुरी रहेको बताए । उनले संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउन गरेको खर्च बीमा बोर्डमार्फत एकीकृत प्रणालीबाट गर्नुपर्ने बताए ।
उनले भने, ‘मेरो बिचारमा हामीले विशिष्टिकृत सेवा सरलीकृत ढंगबाट सस्तोमा प्राप्त गर्ने उपाय भनेको बीमा मात्रै हो । आज हामीले जुन बीमा सेवा प्राप्त गरेका छौँ, त्यो व्यवस्थित छैन । त्यसबाट हामीले आवश्यक पर्ने सबै सुविधा सहज ढंगबाट, बीमाको सीमाबाट प्राप्त गर्न सकिने स्थिति छैन । एक लाख बाट प्राप्त गर्न सकिरहेको स्थिति छैन । त्यसैले बीमाको सिमालाई बढाउने, पाँच लाख पुर्याउने स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । स्रोत नभएको कारणले एक लाख पनि व्यवस्थित हुन नसकेको यो अवस्थामा ५ लाख कसरी उपलब्ध हुन सक्छ भनेर हामीलाई प्रश्न गरिरहनु भएको छ ।’
‘संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउने जुन खर्च गरेको छ । त्यसलाई छिरलिएर होइन, आ–आफ्नो ढंगबाट होइन । बीमा बोर्डमार्फत एकीकृत प्रणालीबाट खर्च गर्ने परिपाटीको विकास गर्नुपर्छ । त्यसैले सबैले स्वास्थ्य सुविधा अन्तर्गत स्वास्थ्य सेवा दिलाउने भनेर जुन आर्थिक सुविधा दिइरहनुभएको छ, त्यसलाई बीमामा एकीकृत ढंगबाट ल्याउँ र त्यसमार्फत् उपलब्ध गराउँ । राज्यले जुन स्वास्थ्य कर कोष लिएको छ, त्यसको ५० प्रतिशत भन्दा बढी हिस्सा बीमामा दिने व्यवस्था गरौँ । आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुहरुमा सुगर ट्याक्स लगाउने व्यवस्था गरौँ । त्यसबाट प्राप्त हुने सम्पूर्ण रकम बीमामा जम्मा गरौँ’ उनले भने ।
उनले आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुहरुमा चिनी कर लगाएर आउने सम्पूर्ण रकम बीमामा लगाउनुपर्ने बताए । उनले विशिष्टिकृत सेवा सरलीकृत ढंगबाट सस्तोमा प्राप्त गर्ने उपाय भनेको बीमा मात्रै भएको भन्दै बीमालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्