काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले एउटा पनि गणना गर्न लायक काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
केपी ओली नेतृत्वको सरकार बनेयता औँलामा गन्न सकिने कुनै एउटा पनि काम हुन नसकेको उनको भनाई छ । बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले सरकारले गफ भने ठूलोठूलो लगाउने गरेपनि काम केही पनि गर्न नसकेको बताए । यो सरकार बनेको दिनदेखि अहिलेसम्म हेर्दा गफ ठूलो गर्ने तर काम चाहीँ एउटा पनि औँलामा गन्नसक्ने खालको नभएको सांसद यादवले दाबी गरे । उनले संविधानको आत्माको रुपमा रहेको समावेशितालाई उल्लंघन गरेर सरकारले राजदुत नियुक्ति गरेको पनि दोहोर्याए ।
सांसद यादवले भने, ‘सरकारले संविधान मान्नुपर्छ कि पर्दैन ? हामीले यो संविधान लेख्दा यो संविधानको आत्मा समानुपातिक समावेशीमा छ । तर सरकारले अहिले राजदुतहरुको जुन सिफारिस गरेको छ । त्यो कुनै पनि कोणबाट समावेशी देखिँदैन । यो सरकार बन्दा नेपाली जनतामा यो संसदीय व्यवस्थामा विरलै घटने घटना स्वरुप यो पहिलो र दोस्रो दल मिलेर बनेको सरकार हो । र, यो एक प्रकारको अन्तिम विकल्प हो । यो सरकारलाई असफल हुने, यो सरकारलाई अल्छि गर्ने, यो सरकारलाई कुनै पनि रुपमा जनताको समस्यालाई समाधान नगरी दायाँबायाँ हुने छुट छैन । यो सरकार बनेको दिनदेखि अहिलेसम्म हेर्दा गफ चाहीँ ठूलो ठूलो चुट्ने, तर काम चाहीँ एउटा पनि औलामा गन्नसक्ने छैन ।’
सांसद यादवले सरकारलाई असफल हुने कुनैपनि छुट नरहेको जिकिर पनि गरे ।
प्रतिक्रिया दिनुहोस्