काठमाडौं । सांसद रेखा यादवले पछिल्लो समयमा नेपालको शैक्षिक अवस्था खस्किँदै गएकाले समयानुकूल शिक्षा प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिएकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भनिन् ‘शिक्षाले दिनदिनै अर्थतन्त्र बदलिँदै गएको देखिन्छ, पछिल्लो समयमा एसइई र १२ कक्षाको परीक्षाफलले अभिभावकमा निराशा छाएको छ ।’ विद्यालयले अभिभावकबाट अनेक बहानामा आवश्यकताभन्दा बढी शुल्क लिइरहेको तर विद्यार्थी परीक्षाको प्रतिफल कमजोर आएको उनको भनाइ थियो ।
सांसद रामप्रकाश चौधरीले पछिल्लो समयमा बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद चित्रबहादुर केसीले भष्ट्राचारीलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए
उनले भने ‘भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादको विषयलाई दिएर देशैभरीबाट फोन आएको छ, यस बारेमा राज्यले स्पष्ट जवाफ दिनुपर्छ ।’ उनले भ्रष्टाचार अन्त्य गर्दै जनतालाई सुशासन दिनुपर्नेमा जोड दिए ।
सांसद प्रेम सुवालले देशभरी भएको सडक दुर्घटना नियन्त्रण गर्न सरकारसँग माग गरे । सांसद महेन्द्रकुमार रायले भारतसँगको सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारसँग अनुरोध गरे । सांसद अच्युतप्रसाद मैनाली र सुशीला थिङले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस्