काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र ओमानका विदेशमनत्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ ।
परराष्ट्रमन्त्री राणाको निमन्त्रणामा सोमवार नेपाल आएका ओमानका विदेशमन्त्रीसँग दुई पक्षिय भेटवार्ता भएको हो । काठमाडौंको होटल सोल्टीमा भएको वार्तामा दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जानकारी दिइन् ।
श्रमको विषयमा सम्झौताको तयारी भएको पनि जानकारी दिइन् । ओमान पक्षले पनि नेपाली श्रमिकहरु आवश्यकताका आधारमा लैजान इच्छुक रहेको र दुई देशबीच यसै वर्ष(२०२४) श्रम सम्झौता गरिने सहमति भएको पनि परराष्ट्रमन्त्रीले जानकारी दिइन् ।
परराष्ट्र मन्त्री डा राणाले नेपालको पर्यटन क्षेत्रमा पनि ओमान सरकारले लगानी गर्न इच्छा देखाएको बताइन् । वार्तामा आफूले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका ८ हजार भन्दा अग्ला हिमालहरु एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुका कारण पनि नेपालमा लगानी गर्न उपयुक्त हुने बताएको जानकारी दिइन् ।
वार्तामा नेपाल तर्फबाट मन्त्री डा राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदुत डोरनाथ अर्याल लगायतका अधिकारीहरु र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्