काठमाडौं । संसदीय समितिले नेपाल आयल निगम लिमिटेडको स्थलगत अनुगमन गर्ने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल आयल निगम लिमिटेडको स्थलगत अनुगमन गर्ने भएको हो ।
आइतबार बसेको समितिको बैठकले निगमको स्थलगत अनुगमन गरी समग्र काम, कारबाहीको सभापति अब्दुल खानले निगमको देशभरको अवस्थाका बारेमा बुझ्न स्थलगत अनुगमन गर्न लागिएको बताए ।
उनले पाइपलाइनबाट पेट्रोलियम पद्धार्थ आए/नआएको र सोको अवस्थाका बारेमा लगायत निगमका सबै काम, कारबाहीको सम्बन्धमा अध्ययन, अवलोकन गरेर आवश्यक निर्देशन दिने तयारी गरिएको जानकारी दिए ।
त्यस्तै समितिले वायो ईथानोल उत्पादन गर्ने स्वदेशी उत्पादकहरुलाई आह्वान गरी बायो ईथानोलको उत्पादन तथा प्रयोगमा ल्याउन आवश्यक प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन नामक संस्थाले विदेश जाने विद्यार्थी तथा श्रमिकको स्वास्थ्य परीक्षण गर्ने गरेको सूचना प्राप्त गरेको भन्दै संस्थाले सरकारको अनुमति लिए/ नलिएको बारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जानकारी माग गरेको छ । साथै सो संस्थाले सरकारलाई तिर्नुपर्ने करको अवस्थाको बारेमा पनि प्रमाणसहित समितिलाई जानकारी गराउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्