सप्तरी । सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ । उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पदान गरेको तरकारी र फलफूल खेर जाने गरेको छ ।
सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवामा २०७५ पुसमा शीतभण्डार निर्माण कार्य सुरु भएको थियो । तीन हजार मेट्रिक टन क्षमता भएको उक्त सहकारी शीतभण्डार निर्माण समयमै निर्माण सम्पन्न नहुँका जिल्लाका किसान मारमा परेका छन् । झण्डै २८ करोड लागतको शीतभण्डार निर्माण कार्य २०७८ सालदेखि रोकिएको छ ।
बजेट अभावका कारण शीतभण्डार निर्माण कार्य बीचमै रोकिएको जिल्ला सहकारी सङ्घ सप्तरीका प्रबन्धक रमेशप्रसाद गुप्ताले जानकारी दिए । शीतभण्डार निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय सरकारबाट ६ करोड ३६ लाख उपलब्ध भएको उनले बताए ।
‘सङ्घीय सरकारले १० करोड ७५ लाख उपलबध गराउन बाँकी नै छ, रकम अभावले निर्माणको जिम्मा लिएको कम्पनीले काम गर्न छाडेको छ ।’ स्वीकृत कार्यक्रमअनुसार सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग थप बजेट उपलब्ध गराउन पटक पटक माग गर्दैआएको प्रबन्धक गुप्ताले बताए ।
सो अन्तर्गत नवलपरासी र सप्तरीमा एकसाथ सहकारी शीतभण्डार निर्माण थालिएको थियो । नवलपरासीमा भने यसअघि नै शीतभण्डार निर्माण भएर प्रयोगमा समेत आइसकेको उनको भनाइ छ ।
सङ्घीय सरकारको ६० प्रतिशत अनुदान, सङ्घ संस्थाहरुको २० प्रतिशत तथा स्थानिय र प्रदेश सरकारको २० प्रतिशत अनुदानमा डेढ कट्ठा जग्गामा उक्त शीतभण्डार निर्माण गर्न थालिएको हो ।
शीतभण्डार अभावले केरा, आँप, आलु, प्याज, लसुनलगायत उत्पादन खेर जाने गरेको छ । किसानले जिल्ला बाहेक अन्य ठाउँमा लगेर आफ्नो उत्पादन बिक्री गर्न सकिरहेका छैनन् । ‘शीतभण्डार नहुँदा उत्पादन सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ, बिक्री नहुँदा उत्पादन त्यसै खेर जाने गरेको किसानको गुनासो छ’ प्रबन्धक गुप्ताले भने । बेमौसममा भने किसानले तरकारी र फलफूल महङ्गोमा किनेर खान बाध्य भएका उनको भनाइ छ ।
स्थानीय किसानले उत्पादन गरेको फलफूल र तरकारी सहकारीमार्फत् शीतभण्डारमा भण्डारण गर्ने योजनाका साथ सो शीतभण्डार निर्माण कार्य अघि बढाइएको प्रबन्धक गुप्ताले जानकारी दिए । ‘अहिले उत्पान खेर गइरहेको छ, सुरक्षित साथ राख्न सकिएको छैन’ उनले भने ‘शीतभण्डारको सुविधा भएको खण्डमा बिक्री गर्न नसकिएको तरकारी र फलफूल लामो समयसम्म राख्न सकिन्छ, किसानले अत्यधिक लाभ लिनसक्ने अवस्था बन्थ्यो ।’
प्रबन्धक गुप्ताका अनुसार मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/८२ मा उक्त सहकारी शीतभण्डार निर्माणका ८ करोड बजेट विनियोजन गरेको छ । तर हालसम्म सो रकम भने प्राप्न हुन नसकेकोउनको भनाइ रहेको छ । चाडो निर्माण कार्य सुरु गर्नुपर्नेमा जोड दिदै उनले जिल्लाका जिल्लामा उत्पादित कृषि उपज भण्डार गर्न शीतभण्डार नभइ नहुने प्रबन्धक गुप्ताले बताए ।
शीतभण्डार निर्माणको जिम्मा पाएको शर्मा आशिष ओम साइराम, सानोठिमीले बजेट अभावकै कारण समयमै निर्माण सम्पन्न गर्न नसकिएको जनाएको छ । ‘यसअघि काम गरेको ३ करोड ५७ लाख प्राप्त गर्न बाँकी छ’ सो निर्माण कम्पनीका प्रतिनिधि सञ्जयकुमार मिश्रले भने । आर्थिक वर्ष २०७७/७८ मा काम गरेको बील पेश गरेपनि त्यसको सुनवाइ नभएको उनको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्