तनहुँ । व्यास नगरपालिकाले खेर गइरहेको फोहर व्यवस्थापन गरी आम्दानी गर्न थालेको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सुक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको हो ।
विगत लामो समयदेखि नकुहिने फोहरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री गरिरहेको वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिए । नगरपालिकाले ५० हजार बराबरको सिसाको बोतल बिक्री गरिसकेको छ । अन्य प्लाष्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ ।
नगरपालिकाले न्यूनतम दररेट कायम गरी १५ दिनको सूचना जारी बोलपत्र आह्वान गरेको हो । जसअनुसार रेडबुललगायत आल्मुनियम प्रतिकेजी ५०, फलाम प्रतिकेजी २८, टीन २०, पानीको बोतल तथा अन्य बोतल २०, कपडा चार रुपैँया ५० पैसा, कपि १५, किताब १४ दररेट कायम गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।
उनका अनुसार फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकाको पुरानो सभाहल र बाहिरी क्षेत्रमा ट्रस निर्माण गरी फोहर वर्गीकरण गरिएको छ । नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर सङ्कलन हुने गरेको छ । कुहिने फोहरलाई व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गैरेले प्लाष्टिक, सिसा, कपडा र फलामलगायत नकुहिने वस्तुलाई छ किसिमले सुक्ष्म वर्गीकरण गरी बिक्री गर्ने योजना अघि बढाइएको जानकारी दिए । यसबाट मासिक १ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको छ । सरसफाइ शाखाका कर्मचारी परिचालन गरी नकुहिने वस्तु वर्गीकरण थालिएको उनले बताए ।
भारतबाट किनेर ल्याएको ‘बेलिङ’ मेसिन नगरपालिका परिसरमा जडान गरी नकुहिने प्लाष्टिकजन्य, फलामजन्य र कागजजन्य वस्तुलाई ठूलो आकारबाट सानो आकार बनाउने काम भइरहेको छ । उक्त मेसिनले ठूलो आकारको वस्तुलाई दाबेर सानो आकार बनाउनुका साथै आफैले ‘ब्यान्डिङ’ गर्ने नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । सरसफाइ क्षेत्रमा लाखौं खर्च गर्दै आएकामा अब फोहरबाट आम्दानी गर्ने लक्ष्यअनुरूप प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्