काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीबजारमा उल्लेखिय सुधार हुनु राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिको सकारात्मक संकेत भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले सेयर बजार बढनुले सकारात्मक सन्देश भएको बताएका हुन् ।
उनले पुँजी बजारको सुधार र निजी क्षेत्रमा लगानी गर्ने मनोवल सहित उत्साह देखिनु सकारात्मक पक्ष भएको बताए । जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले सरकार गठन भएको छोटो समयमा केही परिणाम देखिन थालेको बताए । उनले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै राजश्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको प्रधानमन्त्री ओलीले दाबी गरे ।
उनले घरजग्गा कारोबार समेत क्रमश: वृद्धि हुँदै गएकोले सरकारले जनतामा निराशा होइन आशा जगाउँदै जाने उल्लेख गरे । उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले लिएको शुन्य सहनशिलताको नीति मौखिक प्रतिवद्धता वा देखावटी नभएको बताए । भ्रष्टाचारको विषय हल्लाको विषय मात्रै बन्नु नहुने भन्दै सरकारले कानूनी अनुसन्धान र नतिजामुखी बनाउने प्रतिवद्धता समेत जनाए ।
प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट बताएका छन् ।
ओलीले भने, “बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन सञ्चालन नै गरेर उठाइन्छ । विगतमा किन समयमै महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।”
उनले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट पारे । उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीनप्रचार भइरहेको उल्लेख गर्दै विद्युत् प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार अर्थहीन भएको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले थपे, “उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, रोजगारी बन्द हुन्छ, उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपतअनुसारको महसुल उठाएरै छोडिन्छ ।”
प्रतिक्रिया दिनुहोस्