Shikhar Insurance
National Life

राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न प्रधानमन्त्री ओलीको खेलाडीलाई आग्रह

सिंहदरबार संवाददाता
२०८१ भाद्र २, आईतवार १७:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरुलाई आग्रह गरेका छन् । नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनेक प्रकारका शक्तिले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिएका ।

‘यति सानो देशमा हामी धेरै जाति, भाषी र जाति मिलेर बसेका छौं। यो हाम्रो सम्पन्नता र जीवित सम्पदा हो’ प्रधानमन्त्री ओलीले भने ‘हामीले राष्ट्र र जनताको मन विखण्डित हुन दिनु हुँदैन । खेल क्षेत्र कुनै जात र धर्म विशेषको हुँदैन । यहाँ उत्कृष्टताका आधारमा खेलाडीको प्रतिनिधित्व हुन्छ । कुनै जातको वा धर्मको प्रतिनिधित्व खोई भनेर सोध्ने वा भड्काउने काम यस क्षेत्रमा हुँदैन । यहाँ विधि, पद्धति र नियमको पालना हुन्छ । यो अनुशासनको कुरालाई समाजव्यापी बनाउने हाम्रो काम हुनुपर्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

जनताको शासनका रुपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने प्रधानमन्त्री ओलीले स्पष्ट गरे । समाजमा भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मलाउने र भ्रष्टाचार नगर्नेलाई तथानाम गाली गरेर असत्य फैलाउन लागेकाले सत्यका पक्षमा प्रस्तुत हुन उनले आग्रह गरे ।

‘देशमा शान्ति, सुव्यवस्था र कानुनको राज नहोस् भने वितण्डा मच्चाउन खोज्ने, सरकार र देशलाई असफल पार्ने प्रयास पनि हुन सक्छन् । तपाईंहरुले यसतर्फ पनि सचेत भएर लाग्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने ‘समाजमा योगदान नगरेकाहरुलाई तारिफ गरेर माथि उठाउने र लोकतन्त्रका लागि योगदान गरेकाहरुलाई गाली गर्ने काम भइरहेको छ । अहिलेको सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि बनेको हो । यसमा हामी शून्य सहनशीलता अपनाउँछौं। अनुहार र मुख हेरेर कसैलाई पक्ष–विपक्ष गरिँदैन । सभ्य, आधुनिक, समृद्ध र सुखी नेपालको विकासमा हामी लाग्नेछौँ ।’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई उठाउने र यसका सबै विधालाई जीवनशैलीका रुपमा अपनाउने कामको नेतृत्व गर्ने जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । उनले बालबालिकादेखि बूढाबूढीसम्मलाई आफ्नो क्षमता र रुचिअनुसार खेल एक जीवनको अङ्ग भएकाले खेललाई व्यापकीकरण र सामाजिकीकरण गर्न आग्रह गरे । खेलले मनोरञ्जन, व्यायाम र प्रतिस्पर्धाको अवसर दिने उल्लेख गर्दै उनले सबै पेसा व्यवसायका व्यक्तिका लागि खाना, काम र व्यायामको प्रबन्ध नभए जीवन कूँजो हुने बताए ।

नेपाली खेलाडीले विश्वस्तरका प्रतिस्पर्धामा स्वर्ण पदक नपाउने भन्ने के छ ? हामीले रसियाली र अरेबियाली सबैसँग प्रतिस्पर्धा गर्न सक्छौं । हामीले ओलम्पिकमा सहभागी मात्र हुन थालेका छौं। अब जित्नुपर्छ, उत्कृष्ट र प्रतिस्पर्धीरुपमा खेलेमा हामीलाई जितका लागि केहीले पनि रोक्दैन । सरकारले यस क्षेत्रको विकासका लागि गर्नुपर्ने काम गच्छेले भ्याएसम्म गर्र्नेछ ।

कीर्तिपुरको रङ्गशालालाई स्तरोन्नति गर्न दिइएको प्राथमिकता यसैको उदाहरण हो प्रधानमन्त्री ओलीले भने ‘महासङ्घमा आबद्ध युवाको उत्तरदायित्व खेलमा श्रेष्ठताका साथै समृद्ध, सुरक्षित, सम्मानित र न्यायोचित समाज निर्माणका लागि सचेत प्रयास गर्नु पनि हो । देशको स्वाधीनता, लोकतन्त्र, विधि र सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा तथा राष्ट्रिय झण्डालाई माथि उठाउन पनि उत्तिकै भूमिका हुनुपर्छ ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्