काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंवासीका लागि मेलम्चीको पानीको भरपर्दो नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘काठमाडौं शहरीकरण: वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले मेलम्ची खानेपानीको मुहान भत्किएर फेरि पानी नआउने अवस्था आएको उल्लेख गर्दै अब त्यसको विकल्पको रुपमा रेन वाटर होर्भेटिङको काम अघि बढाउनुपर्ने प्रश्ताव समेत गरे ।
मेलम्चीको पानी ल्याउने कुराले काठमाडौंवासीको भाग्य र भविष्यमाथि खेलबाड गरियो भन्ने आफूलाई ग्लानी हुने गरेको भन्दै उनले अब त्यसमा भर परेर बस्न नसकिने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं उपत्यकाको विकासका लागि भूउपयोग नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए । भूउपयोग नीति प्रभावकारी ढंगले लाग्नु नभई काठमाडौं उपत्यकाको विकास नहुने उनको जिकिर थियो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले विकासको नाममा जथाभावी नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए । उनले भने, ‘मेलम्चीको पानी आयो भनेर खोल्यौं । आयो पनि पानी । संसारमा विभिन्न मुलुकमा यस खालका अभ्यासहरु छन् । यहाँ अर्को एउटा भूउपयोगको नीति यदि ठिक ढंगले लागू नहुने होभने यो काठमाडौंको विकासका कुराहरु हुन सक्दैन । भूउपयोग नीति प्रभावकारी ढंगले लागू हुनुपर्दछ । बस्ती बसाउने कहाँ, खेतीपाती गर्ने कहाँ, बजार बसाउने कहाँ ? संसारको विभिन्न मुलुकहरुमा हुन्छ । हाम्रोमा किन नहुने ? हामीले त्यो गरिरहेका छैनौं । यसमा बिग्रिरहेको छ । जहाँ, जसलाई जे मन लाग्यो, त्यो गर्ने स्थिति छ । यसलाई नियन्त्रण गर्नपर्छ कि पर्दैन ? यो नियन्त्रण गर्नुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले भूउपयोग नीति लागू नहुँदा काठमाडौं उपत्यकाको विकासका काम सही दिशामा अघि बढ्न नसकेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्