कञ्चनपुर । ‘कोशिसस गर्नेहरुको हार कहिल्यै हुदैन’ भन्ने भनाइ शुक्लाफाँटा नगरपालिका १० झलारीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका २८ वर्षीय रमेशबहादुर रावलको जीवनमा चरितार्थ हुन्छ ।
अठार वर्षको उमेरमै होटल व्यवसाय सञ्चालन गरेका रावल मिहिनेती व्यवसायीका रुपमा परिचित छन् । विहान छ बजे देखि साँझ नौ बजे सम्मको समय रावलको होटलमै ग्राहकको सेवा सत्कारमा वित्ने गरेको छ । उनले होटल व्यवसाय सञ्चालन गरी दैनिक ३० हजार बढीको कारोबार गर्दै आएका छन् ।
होटलमा कार्यरत कामदारको ज्याला, आवश्यक खाद्य सामग्री लगायतको खर्च कटाएर ५ हजार देखि ७ हजार सम्म रावलले दैनिक आम्दानी गर्दै आएका छन् । नम्र स्वभावका रावलको होटेलमा निर्माण क्षेत्रमा काम गर्ने मजदुर, कर्मचारी, यातायात क्षेत्रमा काम गर्ने व्यक्ति ग्राहकका रुपमा रहने गर्दछन् । ‘महिनामा २० देखि २५ लाख सम्मको होटलबाट कारोवार हुने गरेको छ’ उनले भने,’त्यसबाट २ लाख जति महिनाको आम्दानी हुन्छ ।’
होटेलको कमाईबाटै रावलले घर खर्च संगै औषधोपचार, लुगाफाटो, खाद्यान्न लगायतको व्यवस्था मिलाउदै आएका छन् । होटेल व्यवसायको शुरुवात रमेशका बुवा धन बहादुरले विसं २०६५ साल देखि शुरु गरेका हुन् । १० हजार लगानी गरी खोलिएको होटलमा रावलले हाल २५ लाख लगानी गरेका छन् । ‘चिनजानका व्यक्तिहरुबाट ऋणका रुपमा र सापटी रकम लिएर बुवाले होटलको शुरुवात गरेका हुन्’ उनले भने, ‘थोरै लगानी हुदा ग्राहक शुरुमा कमै मात्रै आउथे, आम्दानी पनि थोरै थियो, घर खर्च चलाउनै मुश्किल थियो, शहरीकरण बढदै गएपछि होटेलमा खाना खान र नास्ता गर्नका लागि ग्राहक थपिदै जादा आम्दानी बढयो ।’
‘बुवाले पुरानै तरिकाले होटल सञ्चालन गर्दा थोरै ग्राहक आउने भएकाले समय अनुसार होटललाई नयाँ व्यवस्थापन गरी लैजानु पर्छ भन्ने सोच पलायो त्यही अनुरुप होटल सञ्चालन गरेपछि ग्राहकले खाना र नास्ता रुचाउन थाले, त्यस पछि आम्दानी पनि बढदै गएको छ’ उनले भने । होटलमा गरिएको लगानी आम्दानी भएको रकमबाट थप्दै अगाडी बढाउदै लग्दै आएको उनी बताउँछन् । अरुलाई होटल व्यवसाय गरी सहज जीवनयापन गरेको देख्दै आएपछि यसै पेशाप्रतिको लगाव बढदै आएको उनले बताए ।
स्थानीयवासी हेमराज पाण्डेयले अन्य होटेलको तुलनामा सफा सुग्घर र सस्तो रुपमा खानाका परिकार पाईने भएकाले खाना खानका लागि रावलले सञ्चालन गरेको होटेललाई रोजेको बताए । ‘ग्राहक पुग्दा मुस्कुराउने, नम्र स्वभावमा कुरा गर्ने होटल सञ्चालकको बानीले लोभ्यायो’ उनले भने,’खानाका परिकार घरमा बनाईने जस्तै मौलिक पाईने भएकाले यहाँ पुग्छु ।’
होटल व्यवसायसंगै रावलले स्नातक व्यवस्थापन संकाय अन्र्तगतको शिक्षा पनि हासिल गरेका छन । होटलकै कमाईबाटै झलारी बजारमै ५० लाख बढी पर्ने एक कठ्ठा जग्गा खरिद गरी त्यसमा १० कोठे पक्कि घर निर्माण गरेका छन । होटल व्यवसायसंगै रावल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय भएर लाग्ने गरेका छन । दिन दु खिलाई उनले आर्थिक सहयोग गर्दै आएका छन् ।
कञ्चनपुर होटल व्यवसायी संघका उनी कार्यसमिति सदस्य समेत हुन् । शुक्लाफाटाँ उद्योग बाणिज्य संघका सदस्य रहेका छन् । ‘प्लस टु पास गरेपछि युवाहरु विदेशीने लहर चलेको छ’ उनले भने,’कमाई गर्नकै लागि विदेश जानुनै पर्दैन, लगनशिल भएर कार्य गरे विदेशको भन्दा बढी कमाई स्वदेशमै गर्न सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस्