म्याग्दी । आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा ८ वटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् ।
झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा ती पुल निर्माण भएका हुन् । झोलुङ्गे पुल निर्माणका लागि सामुदायिक परिचालन र प्राविधिक सहयोग गर्दै आएको स्थानीय साझेदारी संस्था मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले २० करोडभन्दा बढीको लागतमा ती पुल निर्माण भएको बताईन् ।
मालिका गाउँपालिका–६ को म्याग्दीखोलामा एक सय १४ मिटर, मङ्गला गाउँपालिका-५ पिपलबोटको म्याग्दीखोलामा ७३ मिटर, धवलागिरि गाउँपालिका–७ को म्याग्दीखोलामा एक सय एक मिटर, धवलागिरि-४ खोलाखर्कमा एक सय १२ मिटर, अन्नपूर्ण गाउँपालिकाको दोबिल्ला खोलामा ६० मिटर र ठूलोखोलामा ६४ मिटर लामो पुल निर्माण भएको हो ।
यसैगरी, गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको कालीगण्डकी खोलामाथि भुरुङ तातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जाने एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित म्याग्दीखोलामा निर्माणाधीन ४६ मिटर लामो पुलको ८५ प्रतिशत, रघुगङ्गा गाउँपालिका–८ को लामो खोसेरा खोलाको ३२ मिटर लामो पुलको ६५ प्रतिशत र मालिका–४ मा ७० मिटर लामो कुमालघारे खोला पुलको ३० प्रतिशत निर्माण सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्