काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन् ।
उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका छन् । विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई २०५ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो ।
अर्थमन्त्री पौडेलले नेपालमा स्थीर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरु समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताए ।
विश्व बैंक नेपालको सबैभन्दा ठूलो दातृ निकाय हो । प्रत्येक वर्ष नेपालले बैंकसँग प्रोजेक्टबेस ऋण भन्दा पनि बजेटरी ऋण तथा अनुदान माग्दै आएको छ । बैंकले नेपालको माग बमोजिम सहायता बढाउन सहमत भएको हो ।
बैठकमा अर्थमन्त्री पौडेलसँगै, अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्मा, बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, अर्थ सचिव रामप्रसाद घिमिरे लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्