काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन शुरुवात गरेको छ । आज एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिंदै उनले कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे । उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सनराइज सेक्युरिटिज लिमिटेडले सफलता पाउँन सकोस् भनी कामना समेत गरे ।
कार्यक्रममा लक्ष्मी सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजय विक्रम शाहले लक्ष्मी सन्राइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।
साथै, सनराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरिय रुपमा एकै ठाँउबाट सरल र सहज रुपमा प्रदान गर्न सकिने जानकारी दिए ।
गैह्रिधारा–२, काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।
प्रतिक्रिया दिनुहोस्