काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको महामन्त्री थापाको टिप्पणी थियो । उनले मन्त्रीहरुलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने बताए । उनले कामको आधारमा मन्त्रीहरुको प्रशंसा र आलोचना दुवै गर्ने पनि बताए । मन्त्रीहरुले गलत काम गरे आफूले आलोचना गर्ने महामन्त्री थापाले बताए ।
उनले मन्त्रीहरुलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव दिए । सरकारका मन्त्रीहरुलाई काम गर्नका लागि आफूले सदा साथ दिने महामन्त्री थापाले प्रतिवद्धता समेत व्यक्त गर्दै भने, ‘प्रधानमन्त्रीले मेहनत गरेको देखिराखेको छु । खुशी लागेको छ । मन्त्रीजीहरुले शुरुमा खादामाला लगाउनुभएको भएपनि बिस्तारैबिस्तारै कार्य योजनाहरु बनाई राख्नुभएको छ । शुरुशुरुमा त्यस्तै हुन्छ । हामीलाई पनि त्यही थियो । यो २४ महिनाका लागि मन्त्री हुनुभएको छ । यो समय भनेको सानो समय होइन । नौ महिनाको मन्त्री हुँदाको मेरो अनुभव छ । यो समय भित्र धेरै गर्न सकिन्छ ।’
महामन्त्री थापाले एक महिनाको अवधिमा कार्ययोजना बनाउने काममा मन्त्रीहरुले समय व्यतित गरेको आफूले बुझेको उल्लेख गर्दै अब काममा तिब्रता दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्