प्युठान । ५ वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उनले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहेका छन् ।
जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन । केही त अनुदान लिएको अर्को वर्षदेखि नै फार्म बन्द गरेर विदेशिएका पनि छन् । तर जिसी भने प्रत्येक वर्ष नाफा वृद्धि गर्दै लैजाँदा खुसी छन् ।
उनले भने ‘मासिक एक लाखभन्दा बढी तलब छाडेर स्वदेशमा कृषि पेशा अँगालेको हुँ । यहीँ नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ ।’ विदेशमा जति कमाई भए पनि गाउँमै केही गरेर युवालाई उत्प्रेरणा दिन आफू विदेशबाट फर्केर कृषिमा लागेको जिसीले सुनाए । उनले संयुक्त अरब इमिरेट्सको दुबई अल्कुज कम्पनीमा ५ वर्ष काम गरेर स्वदेश फर्केका हुन् ।
हजुरबुबाले तल्लो गेजवाङ केही जग्गामा तरकारीखेती गरेर उब्जेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने लागेको सोही प्रेरणाले विदेशबाट फर्केर तरकारीखेती गर्ने योजना बनाएका थिए । जिसीको आठ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारीखेती रहेको छ । यसमध्ये करिब तीन रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटरखेती गरिएकामा टमाटरबाट एक याममा करिब ३ लाख बराबर बिक्री गरे ।
श्रीमती हिमा केसी जिसीले गाउँकै आधारभूत तहको शिक्षण गरी बिहान बेलुका सघाएकी छिन भने स्थानीय चार महिलालाई रोजगारी प्रदान गरेका छन् । जिसी कृषि फार्मका रूपमा ५० हजारबाट बारीमा तरकारीखेती सुरु गरिएकामा बर्सेनि आम्दानी वृद्धि गर्दै हाल ८ लाखको लगानी रहेको छ । तरकारीबाट बर्सेनि उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उनले बताए ।
जिसी दम्पतीसहित बुबा, आमा, तीन छोरी गरी सातजनाको परिवार छ । ‘गत वर्ष सबै खर्च कटाएर वार्षिक ६ लाख नाफा भएको छ’ जिसीले भने ‘काममा स्वतन्त्रतासँगै मनग्य आम्दानी हुँदा विदेशभन्दा गाउँमा कृषि गर्नु धेरै राम्रो हो भन्ने लाग्दछ ।’ वि.सं २०७९ मा साढे ४ लाख जति नाफा भएकामा यस वर्ष उत्पादनसमेत वृद्धि र टनेलमार्फत खेती गर्दा उत्पादनमा वृद्धि भएको छ ।
जिसीले टमाटर, भिण्डी र बोडी लगाइएकामा अब खुसार्नी र भेडेखुसार्नी लगाउन ब्याड तयार गरेका छन् । उनले वार्षिक आगामी वर्ष ७ लाख बचत हुनेगरी उत्पादनमा लागेको बताए । जिसीलाई दुई वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्दै आएको छ । गत वर्ष हाते ट्रयाक्टर अनुदानमा पाएकामा यस वर्ष टनेलका लागि २ लाख ७० हजार अनुदान माएका थिए ।
जिल्लामा कृषि उत्पादनको बजारीकरणमा समस्या देखिए पनि जिसीले तरकारी व्यवसायीसँग प्रत्यक्ष कारोबार गर्ने हुँदा बजारको अभाव छैन । प्युठानका बिजुवार, बाग्दुला, क्वाडी, खलङ्गाका पसलमा तरकारी पुग्ने गरेको छ । तर हिउँदे सिजनमा तराईका तरकारीले बजार निर्धारण गर्ने हुँदा मूल्य नपाउने समस्या भने छ । स्थानीय सरकारले मूल्य निर्धारण गर्ने र बाह्य तरकारीलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गरे किसानलाई मार नपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्