Shikhar Insurance
National Life

स्थानीय तहको सामूहिक अग्रसरतामा कोभिड अस्पताल

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार ०७:५६
Hyundai
NCELL
NIMB

महोत्तरी । कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको संयुक्त पहलकदमीमा ५० शय्याको कोभिड अस्पताल बिहीबार सञ्चालनमा ल्याइएको हो । सांसद डा सुरेन्द्रकुमार यादव तथा रामगोपालपुर, मनरा र औरही नगरपालिका एवं सोनमा र सम्सी गाउँपालिकाको संयुक्त पहलकदमीमा अस्पताल सञ्चालन गरिएको हो । अस्पतालको बिहीबार प्रदेश नं २ सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले उद्घाटन गरे । मन्त्री साहले अस्पताललाई प्रदेश सरकारको साथ सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

नेपाल–भारत सीमा दशगजा क्षेत्रबाट तीन किलोमिटर दूरीभित्र यो अस्पताल सञ्चालन गरिएको छ । जिल्लाको सुदूरपश्चिम दक्षिणी क्षेत्रमा पहिलोपटक कोभिड–१९ सङ्क्रमितको निःशुल्क उपचार गरिने आधुनिक सुविधायुक्त अस्पताल सञ्चालनमा आएपछि सर्वसाधारणले अब आफ्नै ठाउँमा उपचार पाउने आश सँगालेका छन् । अस्पताल सञ्चालनका लागि सांसद डा यादवको संसदीय विकास कोषको रकम र पाँच स्थानीय तहले संयुक्तरूपमा रकमको जोहो मिलाएका हुन् । अस्पतालमा अत्याधुनिक शय्या, अक्सिजन सुविधासहितको उपचार र बिरामीको भोजनसहितको प्रबन्ध रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जम्मा १५ स्थानीय तह रहेका जिल्लामा यसअघि जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पताल (जलेश्वर अस्पताल), बर्दिबासस्थित बर्दिबास अस्पताल र गौशाला नगरपालिकाको इमलीबजारस्थित स्वास्थ्यचौकीमा समेत तीन ठाउँ कोभिड–१९ अस्पताल सञ्चालनमा रहँदै आएका छन् । जिल्लाको सुदूर दक्षिणी पश्चिमी क्षेत्रमा नयाँ अस्पताल सञ्चालनमा आएपछि अब त्यस भेगका बिरामीले आफ्नै ठाउँमा उपचार पाउने अवस्थाले थप सहज भएको जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रतिक्रिया दिए ।

जिल्लामा यसपालि २०७८ वैशाख १४ गतेयता हाल बिहीबारसम्म कोभिड–१९ सङ्क्रमणले ७२ जनाको ज्यान गइसकेको छ । यस अवधिमा हालसम्म सङ्क्रमित दुई हजार ३६७ मध्ये ५२५ जना निको भएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । हाल एक हजार ७७० सङ्क्रमित छन् । यीमध्ये १० जना अस्पतालको सघनकक्षमा उपचाररत रहेका र बाँकी घरमै होमआइसोलेशनमा रहेका कार्यालयका कोभिड स्रोत व्यक्तिसमेत रहेकी जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिइन । जिल्लामा महाव्याधी सङ्क्रमण छल्न गत वैशाख २२ यता निषेधाज्ञा जारी छ । पछिल्लो चौथोपटक जारी निषेधाज्ञा अवधि जेठ मसान्तसम्म कायम रहने छ । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्