काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
आईतबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोईरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन् । उनले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पारे । उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भएपनि सरकारको बहुमत नपुग्ने बताए । उनले दुवै सदनमा बहुमत पुर्याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताउँदै नेता कोईरालाले संविधान संशोधन गर्दा नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताए ।
उनले अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाँइ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि बिचार पुर्याउनुपर्नेमा जोड दिए । उनले प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने बताए ।
उनले भने, ‘राजनीतिज्ञहरुले राजनीति गर्ने हो । पैसा कमाउनलाई त्यहाँ(सरकारमा) जाने होइन भन्ने कुरा एकदम बुझिने भाषामा हामीले भन्न सक्नुपर्छ । राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने छ । अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाईं पनि हो । ०६२/०६३ को आन्दोलनले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाँइ पनि भएको छ भन्ने कुरा पनि हामीले दिमागमा राखौँ । त्यसकारण निर्वाचन प्रणालीमा सबै जातजातिहरुलाई समेट्नेगरी तर बहुमत आउनेगरी कसरी गर्न सकिन्छ त्यतातिर सोच्नुपर्यो । कसरी गर्दा उनीहरुको प्रतिनिधित्व पनि संसदमा सुनिश्चित हुन्छ । र बहुमतको सरकार पनि बन्नसक्छ ।’
उनले भने, ‘समावेशी चरित्रको संविधानलाई आगाध नपुग्नेगरी बनाऔँ भन्नेछ । संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरापनि दिमागबाट हटाइदिनुस् । राष्ट्रिय सभामा यो सरकारको बहुमत पुग्दैन । दुई वर्ष कुर्नैपर्ने हुन्छ । संशोधन गर्दाखेरी संविधानलाई सुधार गर्ने क्रममा माओवादी लगायत अन्य राजनीतिक दलहरुलाई पनि हामीहरुले साथ लिएर जानुपर्छ । किनभने संविधान भन्नेकुरा नेपाली जनताको हो ।नेपाली जनताको संविधानलाई सबै राजनीतिक दलहरुले स्वीकार गरेको हिसाबले हामी जानुपर्ने हुन्छ ।’
उनले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनको लागि नेपाली कांग्रेस र नेकपा (एमाले) एक ठाउँमा उभिएका बताए । उनले नेपाली काँग्रेसका मन्त्रीहरुलाई पदबाट बाहिरिँदा निष्कलङ्क भएर निस्किन आग्रह गरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्