काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँगको विद्युत् व्यापारका लागि बुटवल-गोरखपुर ४०० केभी निर्माणाधीन अवस्थामा रहेको बताएका छन् । उनले तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
कार्यकारी घिसिङले भारतसँगको विद्युत् व्यापारका लागि करिब २ हजार ५ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर निर्माणाधीन अवस्थामा रहेको बताउँदै भने, ‘नेपाल–भारतबिचको विद्युत् आयात निर्यातका लागि ८ वर्षअघि करिब ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल बढेर करिब २ हजार मेगावाट पुगेको छ ।’
यस्तै, इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन कार्यान्वयनका चरणमा रहेको नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिदैँ प्रसारण लाइनमा उल्लेख्य प्रगति भएको बताए । त्यसैगरी, किम्ती बारविषे- काठमाडौं ४०० केभी, मर्स्यांदी करिडोर २२० केभी, त्रिशुली २२० केभी प्रसारण लाइनहरुको निमार्ण कार्य अन्तिम चरणमा रहेको उनले बताए ।
‘छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि पनि चिलिमे–केरुङ प्रसारण लाइन अगाडि बढाइएको छ । ८ वर्ष अघिसम्म विद्युत् वितरणतर्फका वितरण सबस्टेसनहरु ८० वटा रहेकामा अहिले बढेर १ सय ९७ वटा पुगेको छ । सब स्टेसन क्षमता ६४० एमभिए मात्र रहेकोमा अहिले २ हजार ५ सय एमभिए पुगेको छ । यसैगरी, वितरण लाइनतर्फ आठ वर्षअघि १ लाख २१ हजार सर्किट किलोमिटर रहेकामा अहिले बढेर २ लाख ८ हजार सर्किट किलोमिटर पुगेको छ’ उनले भने ।
उनले नेपाल, भारत र बङ्गलादेशबिचको विद्युत् व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमणिसम्म ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको बताए ।
प्रतिक्रिया दिनुहोस्