काठमाडौं । मंगलबार सेयर बजारमा अस्वभाविक गिरावट आएको छ । कारोबार रकमको किर्तिमान राख्दै १ सय ४५ अंकले सेयर बजार घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४५.०५ अंकले घट्दा परिसुचक २६५१.३२ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
मंगलबार ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँ कारोबार भएको छ । मंगलबार हिमालयन रि को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको सेयर १ अर्ब ३९ करोड ७८ लाख ८० हजार बढीको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय ४९ रुपैयाँ पुगेको छ ।
मंगलबार ८ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, २ कम्पनीमा सकरात्मक सर्किट लागेको छ भने ११ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । पुर्व अर्थमन्त्री प्रकाशशरण महत सेयर बजार अस्वभाविक रुपमा चलखेल गरी बढाएको भन्दै संसदको प्रतिनिधि सभामै सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शपथग्रहण गरेदेखि नै बढेको बजार मंगलबार भने अस्वभाविक गिरावट देखिएको छ । बजार घट्नु र ठूलो अंकको गिरावट आउनुले बजारमा ठूला खेलाडीहरु बजारबाट निस्किएको आकलन गरिएको छ । संयुक्त राज्य अमेरिकादेखि विश्वका विभिन्न मुलुकहरुमा आर्थिक मन्दीको संकेत देखिएसँगै सेयर बजार समेत गिरावट भैरहेको छ ।
सोमबार मात्रै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएर देश छाडेपछि सोको असर समेत नेपाली बजारमा देखिएको आकंलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्