काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको पुरानो व्यवस्था संसोधन गरेको छ । अब भने सेयर बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुले बैंक तथा वित्तिय संस्थाहरुबाट मागेजति सेयर धितो ऋण लिन सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले साउन ११ गते ल्याएको मौद्रिक नीतिमा सेयर बजारमै लगानी गर्ने गरि स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि कायम रहेको २० करोडको सिमा हटाउने भनेको थियो । सोही व्यवस्था अनुसार राष्ट्र बैंकले सिमा हटाएर सर्कुलर जारी गरेको हो ।
‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड कायम गरिएको छ । तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु हुनेछैन ।’, राष्ट्र बैंकको सर्कुलरमा भनिएको छ ।
बैंकले शुक्रबार सर्कुलर जारी गर्दै उर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेका ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने छ भनी उल्लेख गरेको छ ।
निर्माण व्यवसायीको जमानत दावी भई सृजना भएको कर्जाको हकमा आर्थिक वर्ष २०८१/८२ मा एक वर्षले भाखा नाघेमा मात्र त्यस्ता ऋणी र सम्बन्धित पक्षलाई कालोसूचीमा समावेश गर्नु पर्नेछ भनी उल्लेख गरेको छ । कालो सूचिमा राख्ने मिति यसभन्दा अघि ९० दिन रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्