Shikhar Insurance
National Life

व्यापारी मन्दीको मारमा परिरहेका बेला महोत्तरीका शृङ्गार पसल भने ग्राहकले भरिभराउ

सिंहदरबार संवाददाता
२०८१ श्रावण १४, सोमबार १८:५५
Hyundai
NCELL
NIMB

महोत्तरी । आज यसपालिको साउन महिनाको दोस्रो सोमबार । मधेसका आम व्यापारी मन्दीको मारमा परेको बताइरहेका बेला शृङ्गार प्रसाधनका पसल भने एकाबिहानैदेखि भरिभराउ छन् । यस्ता पसलमा ग्राहकको चाप छ ।

पसलेलाई ग्राहकसँग कुरा गर्न, समान दिन, दाम लिन र हिसाब मिलाउन भ्याइनभ्याइ छ । पसलमा साउन विशेषको शृङ्गारमा हरिया, पहेंला चुरा लगाउने मिथिलानी (मिथिलाका नारी) को चलनले अहिले शृङ्गार पसल भरिभराउ छन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा साउन शिवभक्तिका लागि विशेष महत्व बोकेको समय मानिन्छ । मिथिलामा साउन महिना मिथिलानीका लागि विशेष रहँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मैथिल हिन्दू परम्परामा साउन भगवान शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि यो विशेष बन्दै आएको हो । यस महिनामा अविवाहित वा विवाहित मिथिलानी सबै हरिया, पहेंला चुरा लगाउन बजार पुग्ने स्थापित चलन नै बसेको छ । चुरा लगाउन बजार जाँदा पनि मिथिलानी वरपरका छरछिमेकका मन मिल्दा दौतेरीसँगै निस्कने गर्छन् ।

चुराको निहुँमा घरको बुहार्तनबाट एकैछिन भए पनि मन फुकाउन साउन महिना आपूmहरुका लागि विशेष रहँदै आएको मिथिलानी बताउँछन् । मिथिलाको यो स्थापित परम्पराले शृङ्गार पसल सञ्चालकलाई साउन कहिले सुरु हुन्छ भन्ने पर्खाइ हुन्छ । शृङ्गार पसल विहेबारीका बाक्ला लगन हुँदा, विशेष धार्मिक अनुष्ठानमा र साउनमै चल्ने हुन् । केही महिनाका केही दिनको व्यापारले वर्ष धान्नुपर्दा आपूmहरुलाई साउन पर्खाइको महिना हुने गरेको भङ्गाहा–५ सीतापुर बजारका शृङ्गार पसलका सञ्चालक रामभगत साह बताउँछन् ।

“हाम्रो पसलमा मान्छे झुम्मिने भनेकै साउन लागेपछि हो, यसमा पनि सुरुका दुई साताजति बाक्लो हो, पछिसम्म ग्राहकको चाप रहन्न”, साह भन्छन्,“आज साउनको दोस्रो सोमबार परेको हुँदा बिहानैदेखि पसलमा भीड बढेको हो ।” साउने सोमबारका दिन शिवालयमा दर्शन र पूजाआराधनाका लागि गइँदा हरिया÷पहेँला चुरा लगाउने मिथिलानीहरुका लागि परम्पराजस्तै छ । मन मिल्ने साथीसँगीका साथ निस्कने हुँदा मिथिलानीले दुई÷चार दिन पहिले नै बजार जाने, चुरापोते लगाउने र शिवालय जाने टुङ्गो गरेका हुन्छन् ।

साउनमा हरिया र पहेंला दुवै रङ्गका चुराको माग भए पनि धेरैजसोले हरिया नै खोज्ने गरेका साह बताउनुहुन्छ । त्यसैले साउन लक्षित गरेर विभिन्न थरिका चुरा पसलमा सजाउने गरिएको साहसहितका शृङ्गार पसले बताउँछन् । शिव भक्ति र आराधनाका लागि साउन महिना तथा यसको सोमबारको झन् विशिष्ट महत्व छ । साउने सोमबारका दिन भगवान शिवलाई पुकार गरी पूजाआराधना गरेर व्रत बसे इच्छित कामना पूरा हुने हिन्दू मैथिल जनविश्वास छ ।

साउनमा सोमबार परेको दिन मिथिलानी विभिन्न वस्त्रमा सजिएर शिवभक्तिका गीत गाउँदै शिवालयमा देखिन्छन् । मिथिलानीको यो पहिरनभित्र हरियो चुराको विशिष्ट महत्वले गर्दा अहिले महोत्तरीसहितका मिथिला क्षेत्रमा जताततै बस्ती÷बस्तीमा हरियो र पहेँला चुराको बजार जमेको देखिन्छ ।

हरियो चुरा अक्षुण्ण (अटल) सौभाग्यको सौन्दर्य प्रशाधन मानिने हुँदा साउने सोमबारी व्रतमा महिलाले यो रोज्ने गरेका हुन् । हरियो चुरासहितको प्रशाधनमा सजिएर भगवान शिवको गरिने आराधना र व्रतले इच्छित वर तथा अटल सौभाग्य प्राप्त हुने विश्वास रहेको हातभरी हरियो चुराले नाडी छोपेकी बर्दिबास–२ की प्रीति महतो बताउनुहुन्छ । यसपालि साउन (सौरमास) मा चार सोमबार परेका छन् । त्यसमध्ये आज यसपालिको दोस्रो सोमबार हो । चन्द्रमास गणनाले भने आउने भदौ ३ गते पर्ने साउने पूर्णिमाका दिनको समेत साउनमा पाँच सोमबार परेका छन् ।

साउन प्रकृति पूजनका लागि उत्तम मनिन्छ । हरियो रङ्ग प्रकृतिको प्रतीक मानिने हुँदा साउनमा यो रङ्गको महत्व बढेको मिथिलानी बताउँछन् । “साउन महिना प्रकृति पूजाका लागि विशिष्ट मानिन्छ, हरियो रङ्ग प्रकृतिको प्रतीक मानिन्छ”, बर्दिबास–३ की बासिन्दा सामाजिक कार्यकर्ता सरस्वती चौधरी भन्छीन्, “हाम्रा तीर्थ व्रत र चाडवाड धेरैजसो प्रकृतिसम्वद्ध छन्, त्यसैले साउनमा हरियो चुराले महत्व पाएको हो ।”

विवाहित मिथिलानी अटल सौभाग्य र अविवाहित युवती सुन्दर वर (दुलाहा) को कामनाले साउने सोमबारी व्रत बस्छन् । नवविवाहिता मिथिलानी साउनमै पतिपत्नीबीच पिरती गाढा हुने विश्वास गर्छन् । भगवान् शिवको आराधना होस् कि अन्य धार्मिक अवसर सौभाग्य प्रशाधनको चयनमा हरियो चुरा मिथिलानीको प्राथमिकतामै पर्छ ।

साउने यो पर्वका अवसरमा हरियो चुरामात्र नभएर हरियो पोते, हरियो सारी र अन्य शृङ्गार प्रशाधनका पसल साउन लागीकन जताततै सजिएका छन् । अटल सौभाग्य र पतिपत्नीबीच गाढा प्रीतिको कामनासाथ १३ दिन मनाइने मधुश्रावणी पर्व पनि मिथिलानीले गत शुक्रबारदेखि सुरु गरेका छन् । साउनको सोमबार र मधुश्रावणी सँगसँगै पर्दा मिथिलानीका लागि आपसी भेटघाट, हासपरिहास र शृङ्गारमा सजिन खास अवसर बनेको छ ।

किसानका लागि साउन खेतीपातीका कामले भ्याइनभ्याइको बेला पर्छ । यसैबेला मिथिलानी भने घुमफिर, साथीसँगीसँगको हाँसखेल र तीर्थव्रतमा मग्न हुन्छन् । सधैं घरगृहस्थीमा रुमलिने मिथिलानी साउन लागेपछि सहेलीहरुको झुण्डमा मन फुकाएर हाँस्दै शिवालयमा देखिन्छन् । यस्तो जमघटमा आफ्ना वस्त्र परिधान विशिष्ट देखिउन् भन्ने अन्तरनिहित चाहना हुने गरेको मटिहानी –९ बहुअर्वाकी सुलोचना शर्मा बताउनुहुन्छ । साउने सोमबारको अवसरले आज महोत्तरीका टुटेश्वर, जलेश्वर, मङ्गलनाथ, सिद्धनाथ र गुप्तेश्वरसहितका शिवालय एकाबिहानै श्रद्धालुको भीडले भरिएका छन् ।

साउन महिनाले खेतबारी र कान्लापाखामात्र नभएर परिवेश नै हरियो बनाएको देखिदो छ । हाट बजारमा यतिखेर जताततै हरिया शृङ्गार साधनका पसल सजिएका छन् । यस्ता शृङ्गार प्रशाधनका पसलमा युवा उमेरका मिथिलानीको उपस्थिति सघन देखिन्छ । साउन लागेयता बल्ल पसलमा ग्राहक आउन थालेका बर्दिवास–१ मुुख्यचोकका व्यापारी श्याम महतोको भनाइ छ ।

अहिले महिलाले हरियो रङ्गका जरी भरेको चुरा, हरिया बुट्टेचुरा बढी खोज्ने गरेका शृङ्गार पसले बताउँछन् । चुरासँगै अहिले मेहन्दीको व्यापार पनि फस्टाएको छ । साउनमा हरियो चुराजस्तै हातको हत्केला, नाडी र नङ्मा मेहन्दी लगाउने मिथिलानीको चलन छ । साउनमा हत्केला, नङ, औंला र नाडीसम्म कलात्मक ढङ्गले लगाइने मेहन्दीले पतिपत्नीबीच प्रेममा प्रगाढता हुने तथा सर्पको भय नहुने विश्वास गरिन्छ ।

हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि मानिन्छ । साउने सोमबारी पर्वका बर्तालु विवाहित मिथिलानीले पतिको समृद्धिको कामना गर्दै हरियो चुरा, पोते, हरियो लुगा र हत्केलामा मेहन्दी लगाउने प्रचलन छ । त्यसैगरी अविवाहित मिथिलानी सुन्दर वर (दुलहा) को कामना गर्दै साउने व्रत बस्छन् । साउनमा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडी एकले अर्कालाई उपहार दिने चलन पनि बाक्लै भएको हुँदा यो महिनामा यस्ता सामानको बजार निकै जम्ने गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्