म्याग्दी । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पाररेका नेपाल पन्छीविद् सङ्घले जनाएको हो ।
नेपाल बर्ड रेकर्ड कमिटि (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिए ।
स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher) अंग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा (Muscicapa Striata) रहेको कमिटिका अध्यक्ष सुवेदीले जानकारी दिए । समुन्द्री सतहबाट ३ हजार छ सय ५० मिटर उचाइमा यही साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिचेका सो चराको तस्विर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटिमा पठाएका थिए ।
उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्र्तराष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताए । धर्से अर्जुनकसहित नेपालमा चरा प्रजातिको सङ्ख्या आठ सय ९६ वटा पुगेका छन् । अर्जुनक प्रजातिको सङ्ख्या २४ पुगेको छ । नेपालबाट सबैभन्दा नजिक मङ्गोलिया, उत्तरी चीनको विभिन्न ठाउँ, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ ।
जाडो याममा यिनीहरु नियमित रुपमा दक्षिणतिर बसाइँ सर्छन् । मुस्ताङमा भेटिएको यो चरा बसाइँसराईको क्रममा बाटोमा फिरन्ते रुपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराविद् सञ्जय था श्रेष्ठले बताए । ‘देशका लागि नयाँ चरा पहिचान गर्न सकेकामा खुसी लागेको छ’ वाइल्डलाइफ फोटोग्राफरसमेत रहेका श्रेष्ठले भने ‘यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ । चराका फोटो खिच्न उत्प्रेरित गरेको छ ।’ नेपाल बर्ड रेकर्ड कमिटीले नेपालमा नयाँ चराको अभिलेख राख्ने गर्दछ । श्रेष्ठले सन् २०२० मा मनोहरामा सेतोजुँगे बगेडी चरा मुलुकका लागि पहिलो पटक अभिलेख गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्