काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का सांसद पदम गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले नियम बमोजिम उद्योगीहरुले पनि विद्युत महशुल तिर्नुपर्छ भन्ने अभिव्यक्तिमाथि नेकपा (माओवादी केन्द्र)ले भ्रम छर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले माओवादी केन्द्रका सांसदहरुले उद्योगी व्यवसायीहरुसँग लेनदेन गरेर विद्युत महशुल तिर्न नपर्ने खालको अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिएजस्तो गरी आम जनतामा भ्रम छर्ने खालो अभिव्यक्ति दिएको जिकिर गर्दै आक्रोश व्यक्त गरेका हुन् ।
सांसद गिरीले विगत ८/१० वर्षयता अधिकांश समय ऊर्जा मन्त्रालय माओवादी केन्द्रले सम्हालेको उल्लेख गर्दै सो समयको विद्युत महशुल किन असुल गर्न नसकेको भन्दै प्रश्न गरे । उनले केही आर्थिक लेनदेनका लागि डेडिकेटेड लाईन र ट्रंक लाईनको महशुलमा बार्गेनिङ गरेर माओवादी केन्द्रले उद्योगीहरुमाथि अनुचित लाभ लिन खोजेको पनि विगतमा देखिएको आरोप लगाए ।
उनले भने, ‘२०७२ सालेदेखि ८–१० वर्षयता हाम्रो ऊर्जा मन्त्रालय प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सम्हालीरहेको छ । करिब ८/१० वर्षको अवधिमा जनार्दन शर्मा, महेन्द्रबहादुर शाही, कमल थापा, वर्षमान पुन, टोपबहादुर रायमाझी, शरतसिंह भण्डारी, पम्फा भुसाल, राजेन्द्र लिङदेन, शक्तिबहादुर बस्नेत उहाँहरुले निरन्तर निरन्तर ऊर्जा मन्त्रालयको जिम्मेवारी लिईरहनुभएको छ । तर दुभाग्य आज उद्योगी व्यवसायीहरुले उपभोग गरेको ट्रंक लाईन र डेडिकेटेड लाईनको नाममा २२ अर्ब भन्दा बढी भुक्तानी लिनुपर्नेछ भन्ने विद्युत प्राधिकरणको निर्देशन बमोजिम आज त्यो भुक्तानी नदिएको भनेर केही उद्योगीहरुको लाईन काटने काम भएको छ ।’
‘आज हामीले उत्पादन गरेको विद्युतले बजार नपाउने अवस्था छ । अर्कोतिर विद्युत नपाएर केही उद्योगीहरुले आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था छ । यो भन्दा दुर्भाग्यपूर्ण अवस्था अरु के हुन सक्दछ रु त्यसकारण यो समस्याको तत्काल समाधान गर्नुपर्छ भनेर सम्मानीय प्रधानमन्त्रीज्यूले भन्नु भयो । त्यस विषयलाई लिएर सम्माननीय सभामुख महोदय आज जुन किसिमको प्रमुख प्रतिपक्ष दलका माननीयहरुले कोकोहोलो मच्चाउनु भयो’ उनले भने ।
सांसद गिरीले वर्तमान सरकारले नियम बमोजिक सबै उद्योगीहरुसँग विद्युत महशुल लिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्