काठमाडौं । नेपाली काँग्रेसका सांसद डा। प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद महतले संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता नहुने जिकिर गरे । उनले समावेशिता सुनिश्चित गर्ने अझ राम्रा उपायहरु रहेको उल्लेख गर्दै समावेशितालाई कटौति गर्ने नभइ हरेक वर्ग, समूहका व्यक्तिलाई प्रत्यक्ष रुपमा जनतामा गएर निर्वाचित भइ आउने व्यवस्था गर्ने बताएका छन् ।
उनले वर्तमान संविधानको मुल मर्म र भावनालाई नखुम्च्याइकन, कमजोर नगरीकन संशोधन र सुधार गर्न सकिने जानकारी गरे । उनले नेकपा एमाले र काँग्रेससँगको सत्ता सहकार्य जटिल र आवश्यक रहेको बताए । उनले परिस्थितिका कारण दुई ठूला पार्टी एक ठाउँमा हुन परेको जानकारी गरे ।
समाजवाद, लोकतन्त्र, कानूनी शासनको सुनिश्चिततामा सरकारले ध्यान दिने पनि बताए । उनले पार्टी र व्यक्ति भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नुपर्ने बताए । सांसद महतले आर्थिक उन्नति, रोजगारी देशमै सिर्जना गर्ने वातावरण वर्तमान सरकारले निर्माण गर्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्