Shikhar Insurance
National Life

व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय

सिंहदरबार संवाददाता
२०८१ श्रावण ७, सोमबार १२:३१
Hyundai
NCELL
NIMB

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरीपालनसम्बन्धी तालिम दिएपछि उनीहरु व्यावसायिक मौरीपालनमा जुटेका हुन् ।

मौरीपालनको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकाले यहाँका बाक्वा, भामला, छापगाउँलगायतका स्थानमा मौरीपालन हुने गरेको छ । मौरीपालनसम्बन्धी प्राविधिक ज्ञान र आधुनिक घार बनाउने तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहज भएको स्थानीय किसान शरणकुमार बोहोराले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगतमा परम्परागत मुढेघारमा मौरीपालन गरिरहेको भए पनि अहिले आधुनिक घारमा मौरीपालन थालेको उनले बताए । दुई चरणमा तालिम लिएपछि आफैले घार निर्माण गर्न थालेको उनको भनाइ छ । अहिले उनले ३५ घार मौरीपालन गरिरहेका छन् । यहाँका अधिकांश क्षेत्र मौरीपालनका लागि उपयुक्त रहेकाले किसानलाई प्राविधिक ज्ञानसँगै आधुनिक घार निर्माणको तालिम दिइएको वडाध्यक्ष एकराज आचार्यले जानकारी दिए । किसानलाई मौरीपालनमा जोड दिएसँगै मह उत्पादन हुन थालेको छ ।

“हाम्रो वडामा मौरीपालनको राम्रो सम्भावना छ” आचार्यले भने,“किसानले आ–आफ्नो तरिकाबाट मौरीपालन गर्दै आएका थिए । पराम्परागत रुपमा गरिँदै आएको मौरीपालनलाई व्यावसायिकसँगै प्रविधिमैत्री बनाउन जोड दिएका छौँ । मौरीपालनबाट आयआर्जनमा जोड्न प्राथमिकताका साथ काम गरिरहेका छौँ ।”गाउँपालिकाले किसान लक्षित विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताए ।

किसानलाई तालिमसँगै मौरी घार वितरण, उन्नत जातको बाख्रा तथा बोका वितरण, सुन्तलाको नर्सरी स्थापना, लागत साझेदारीमा हाते ट्र्याक्टर, प्लास्टिक टनेल, विद्युतीय मिल, सिँचाइ पाइप, हजारीलगायतका सामग्री वितरण गरिएको उनले जानकारी दिए । “हामीले माटो सुहाउँदो कृषि प्रणालीमा जोड दिँदै आएका छौँ”, प्रशासकीय अधिकृत पोखरेलले भने,“किसानलाई नियमित तालिमको व्यवस्था गरेका छौँ । त्योसँगै किसानलाई लागत साझेदारीमा विभिन्न आधुनिक कृषि यन्त्र उपकरण पनि वितरण गर्दै आएका छौँ ।”

गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर मौरीपालन तथा कृषिका अन्य क्षेत्रमा प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्