Shikhar Insurance
National Life

झापा सवारी दुर्घटनामा १ वर्षमा ८७ जनाको मृत्यु

सिंहदरबार संवाददाता
२०८१ श्रावण २, बुधबार १६:१२
Hyundai
NCELL
NIMB

झापा । जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असरासम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो ।

सवारी दुर्घटनामा मुत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए । सडक दुर्घटनामा परी १ सय ६४ गम्भीर र आठ सय तीन जना सामान्य घाइते भएका छन् । सबैभन्दा धेरै पाँच सय ५१ व्टा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जीपरकार, ३१ ट्र्याक्टर र ६० टेम्पो दुर्घटनामा परेका छन् । वर्ष आव २०७९/८० को भन्दा गत आवमा २६.२७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको जिल्लास्थित ट्राफिक कार्यालयले जनाएको छ ।  आव २०७९/८० मा ८ सय चार सडक दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाएका थिए । ट्राफिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी नायब निरीक्षक गौतमले बताए ।

सवारी कारबाही 

जिल्लामा गत आव २०८०/८१ मा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक गौतमका अनुसार गत वर्ष सवारीसाधन कारबाहीबाट २ करोड ८६ लाख ८२ हजार छ सय ४१ राजस्व सङ्कलन भएको छ ।

सङ्घीय सरकारले निर्धारण गरे अनुसार पहिलो पटक कारबाहीमा पर्नेलाई ५ सय, दोस्रो पटक १ हजार र तेस्रो पटक १ हजार पाँच सय जरिवाना लिने गरिएको प्रहरी नायब निरीक्षक गौतमले बताए । उनले भने ‘अहिले सवारीसाधन र चालक अनुमतिपत्रका आधारमा कसुरको प्रकृति हेरी कारबाही गर्छौँ । एउटै चालक अनुमतिपत्र र सवारीसाधनले अर्कोपटक गल्ती गरे जरिवाना बढ्दै जान्छ ।’

गतवर्ष सबैभन्दा धेरै १६ हजार छ सय ७६ मोटरसाईकल कारबाहीबाट १  करोड सात लाख ३१ हजार एक सय ४१ राजस्व सङ्कन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै १८ हजार छ सय ५७ कार तथा जीपलाई कारबाही गर्दा १ करोड सात लाख २७ हजार राजस्व सङ्कलन भएको थियो ।  जिल्लामा दुर्घटना हुनुको प्रमुख कारण मादक पद्धार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउन रहेको नायब प्रहरी निरीक्षक गौतमले बताए ।  गतवर्ष मापसे गरेर सवारीसाधन चलाउने दुई हजार ६४ सवारीसाधनलाई करबाही गरिएको थियो । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांशले मापसे गरेका व्यक्ति पाइएको प्रहरी नायब निरीक्षक गौतमले जानकारी दिए । यसैगरी तीव्र गति, चालकको लापरबाहीलगायत कारण रहेका उनले बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्