बाँके । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्यको ६३.३४ प्रतिशत राजस्व असुली गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई २८ अर्ब ६६ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा १८ अर्ब १५ करोड मात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिएका हुन् ।
अघिल्लो आवभन्दा गत आवमा करिब ४ करोड कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९÷८० मा भन्सार लक्ष्य २९ अर्ब ३२ करोड रहेकामा १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार राजस्व सङ्कलन भएको थियो । चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली भएको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा चिनी आयातबाट मात्रै करिब ९० करोड राजस्व असुली भएकामा गत आवमा चिनीबाट राजस्व असुली शून्य भएको थियो ।
कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८१ करोड ३० लाख ८४ हजार असुली गर्ने लक्ष्य राखेकामा १ अर्ब ४१ करोड ४० लाख ९८ हजार सङ्कलन गरेको थियो । भदौ महिनामा २ अर्ब २२ करोड १४ लाख ५८ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा १ अर्ब ४५ करोड ११ लाख ८० हजार असुली भएको थियो ।
यस्तै, असोजमा २ अर्ब ४४ करोड ५३ लाख ८६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा १ अर्ब ४८ करोड ६० लाख ९९ हजार, कात्तिकमा १ अर्ब ३८ करोड ९१ लाख ९२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा १ अर्ब २४ करोड २१ लाख ५० हजार सङ्कलन गरेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । उक्त कार्यालयले मङ्सिरमा २ अर्ब ५२ करोड ३६ लाख ६६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा १ अर्ब ५५ करोड ८९ लाख ९९ हजार सङ्कलन गरेको थियो । त्यस्तै, पुसमा २ अर्ब ५६ करोड ६० लाख ६६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा १ अर्ब ५३ करोड ५५ लाख ५६ हजार सङ्कलन भएको छ ।
त्यसैगरी, माघमा १ अर्ब ३१ करोड ४२ लाख १२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा १ अर्ब ३१ करोड ८१ लाख २२ हजार सङ्कलन भएको छ । कार्यालयले फागुनमा २ अर्ब ५० करोड १७ लाख ६५ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा १ अर्ब ५८ करोड ४७ लाख ३८ हजार असुली गरेको छ । कार्यालयले गत आर्थिक वर्षको चैतमा २ अर्ब ४५ करोड तीन लाख ७४ हजार, वैशाखमा २ अर्ब ४७ करोड २५ लाख १२ हजार, जेठमा २ अर्ब ४९ करोड ६६ लाख एक हजार र असारमा रु दुई अर्ब ४६ करोड ८२ लाख १९ हजार राजस्व असुली गर्ने लक्ष्य राखेको थियो ।
नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात (पैठारी) र नेपालगञ्जबाट जडीबुटी लगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्