तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराएको छ । उत्पादनका आधारमा दूधमा अनुदान दिने नीतिले गाउँपालिकामा दूग्ध उत्पादक किसान बढ्नुका साथै दूध उत्पादनमा वृद्धि भएको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा यहाँका किसानलाई २८ लाख ८८ हजार दुई सय आठ वितरण गरेको पशुसेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । उनका अनुसार प्रति लिटर १० का दरले अनुदान उपलब्ध गराइएको छ ।
तीन वटा सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने किसानले अनुदान पाएका छन् । चालु आर्थिक वर्षमा तीन वटा सहकारी संस्थामार्फत् २ लाख ८८ हजार आठ सय २० लिटर दूध बिक्री भएको छ । म्याग्दे गाउँपालिका–४ स्थित म्यादे दुग्ध उत्पादक सहकारी संस्थाबाट २ लाख ३७ हजार नौ सय ४७, गौ सेवा दुग्ध उत्पादक सहकारी संस्थाबाट ३४ हजार सात नौ र साँगे चारहजार दूध उत्पादक सहकारी संस्थाबाट १६ हजार एक सय ६४ लिटर दूध उत्पादन भएको छ ।
त्यसमध्ये म्याग्दे दुग्ध सहकारीलाई २३ लाख ७९ हजार चार सय ७७, गौ सेवा दुग्ध सहकारीलाई ३ लाख ४७ हजार ११ र साँगे चारहजार दुग्ध सहकारीलाई १ लाख ६१ हजार छ सय ४० अनुदान उपलब्ध गराइएको शाहले बताए । गाउँपालिकाले गत जेठ २० गते तीन वटा सहकारीलाई बिक्री भएको दूधको अभिलेख, भुक्तानी बिलको प्रमाणित प्रतिलिपिसहित उक्त किसानले बिक्री वितरण गरेको एकमुष्ट विवरण माग गरेको थियो ।
गत आर्थिक वर्षमा गाउँपालिकाले किसानलाई १४ लाख ९८ हजार पाँच सय ८२ अनुदान वितरण गरेको थियो । त्यसबेला एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको थियो । म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने किसानलाई ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई २ लाख १२ हजार दुई सय ३२ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई १ लाख ६५ हजार एक सय ६३ रकम वितरण गरिएको थियो ।
दूध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान उपलब्ध गराएपछि किसान उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि किसान खुसी भएका हुन् । म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले गाउँपालिकाको यो कामले किसानको हौसला बढाएको बताउँदै जति धेरै उत्पादन गर्न सक्यो त्यति हामीलाई फाइदा भएको बताए ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि र पशुपालन क्षेत्रलाई अझै व्यवस्थित गर्दै लैजाने नीति लिइएको उल्लेख गरे । उनले भने ‘गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएका हौं । यसले गर्दा दुग्ध उत्पादक किसान पेसाप्रति आकर्षित र उत्साहित भएको पाएका छौं ।’
प्रतिक्रिया दिनुहोस्