नवलपरासी । नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ ।
नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्न १२ः०५ बजे नदीले सतर्कता तह पार गरेको हो । अहिले नदीमा पानीको सतह ७।३७ मिटर पुगेको छ । नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको देवघाटस्थित जलमापन केन्द्रले जनाएको छ ।
देवघाटस्थित जल मापन केन्द्रमा पानीको सतह ७.३ मिटर पुग्दा सतर्कता तह र नौ मिटर पुगेपछि खतराको तह पार गरेको मानिन्छ । देवघाटस्थित नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि नवलपुरका नदी नटीय क्षेत्रहरू डुबानमा पर्ने गर्दछन् ।
यसैबीच, नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए । केही दिन अगाडि नारायणीमा आएको बाढीका कारण गैँडाकोट, मध्यविन्दु तथा विनयी त्रिवेणी गाउँपालिकाका केही वडा डुबानमा परेका भन्दै उनले जिल्लास्थित सुरक्षा निकाय, रेडक्रसलगायत सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
जिल्लास्थित विपद् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेर काम गरिरहेको छ प्रजिअ रिजालले भने ‘हामीले स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई समेत उच्च सतर्क रहन आग्रह गरेका छौं ।’ नवलपुरमा नारायणी नदी र कालीगण्डकी नदीको बाढीबाट डुबान तथा कटानको उच्च जोखिम रहेको भन्दै उनले अन्य खहरे खोलाहरूमा आउने बाढीले डुबान हुने गरेको बताए ।
कालीगण्डकी नदीको बाढीबाट बौदिकाली, बुलिङटार गाउँपालिका र गैँडाकोट नगरपालिकाको नदी नटीय क्षेत्र प्रभावित हुने गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी रिजालले नारायणी नदीको बाढीबाट गैँडाकोट, कावासोती, देवचुली, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका प्रभावित हुने गरेको जानकारी दिए । बाढीबाट नदी किनारका बस्ती जोगाउन तटबन्धसहित अन्य संरचना निर्माण गर्ने काम भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्