Shikhar Insurance
National Life

उत्पादकलाई थप सहयोग पुर्‍याउन गुल्मीका किसानलाई ‘मिल्क एनलाइजर’ मेसिन प्रदान

सिंहदरबार संवाददाता
२०८१ असार २०, बिहीबार १७:३५
Hyundai
NCELL
NIMB

गुल्मी । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले किसानलाई ‘मिल्क एनलाइजर’ (दूधको शुद्धता र गुणस्तर मापन गर्ने) मेसिन प्रदान गरेको छ । केन्द्रले पशुपक्षी तथा मत्स्य प्रविधि प्रदर्शनअन्तर्गत जिल्लाको धुर्कोट गाउँपालिका–५ का व्यावसायिक किसान रवीन्द्र घिमिरेलाई उक्त मेसिन प्रदान गरेको हो ।

काठमाडौंमा स्नाकोत्तर तह अध्ययन पूरा गरेपछि गाउँ फर्केर तीन वर्षदेखि घिमिरे व्यावसायिक रूपमा कृषि कर्ममा लागेका छन् । गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ काठमाडौंबाट गाउँ फर्किएको उनले बताए । उनले उन्नत जातका भैँसीपालनबाट दैनिक चार सय लिटर दूध सङ्कलन गरी बिक्री गरिरहेको जानकारी दिए । स्थानीय उपभोक्ता, सङ्कलक र उत्पादकलाई थप सहयोग पुर्‍याउने उद्देश्यले किसानलाई ‘बायोकेमिकल मिल्क एनलाइजर मेसिन’ उपलब्ध गराइएको केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले बताए । उनका अनुसार उक्त मेसिनबाट दूधको शुद्धतासँगै दूधमा पाइने प्रोटिन, लैक्टोज (दूधमा पाइने चिनीको मात्रा), पानीको मात्रा लगायत अन्य तत्व र गुणस्तर मापन गर्न सकिने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त मेसिनबाट किसानलाई दूधको मूल्य निर्धारण गर्न र गुणस्तर मापन गर्न सजिलो हुने पशु चिकित्सक डा नवीना ढकालले बताईन् । दूधमा पानी र स्टार्च (माड) लगायत तत्वको मिसावट हुनेभएकाले दूधको गुणस्तर सुनिश्चित गर्न मेसिन उपयोगी हुने उनको भनाइ छ । गुल्मीमा हालसम्म पाँच स्थानमा मिल्क एनलाइजर वितरण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–८ स्थित बस्नेत डेरी उद्योग, सत्यवती गाउँपालिका–६ स्थित श्रीकृष्ण डेरी पकेट समूह, सत्यवती गाउँपालिका–५ अन्तर्गत सत्यवती दुग्ध उत्पादक सहकारी संस्था र रुरु क्षेत्र गाउँपालिकाको बम्घा दुग्ध उत्पादक सहकारीलाई मिल्क एनलाइजर वितरण गरिएको कार्यालय प्रमुख पाण्डेयले जानकारी दिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा वार्षिक रूपमा २२ हजार दुई सय ५८ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादित दूधमध्ये ८० प्रतिशत जिल्लामै खपत हुने गर्दछ भने बाँकी २० प्रतिशतमात्र बिक्री हुने गरेको पाण्डेयले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्