रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ५ वर्षको अवधिमा तीन हजार बढी व्यक्ति लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०७५/७६ देखि कार्यक्रम लागू भएदेखि हालसम्म तीन हजार ११ व्यक्तिले रोजगार प्राप्त गरेका नगरपालिकाका रोजगार संयोजक मायाकुमारी श्रीवास्तबले जानकारी दिएका हुन् । उनका अनुसार यस अवधिमा उक्त कार्यक्रमबाट ६ करोड ३४ लाख ७१ हजार चार सय खर्च भएको छ ।
आव २०७५/७६ मा स्वीकृत ४३ लाख बजेटबाट चार सय ४१ जनाले औसतमा ३० दिन रोजगार पाएका थिए । यस्तै आव २०७६/७७ मा ७१ लाख ८० हजार बजेटबाट चार सय ५० जनाले २८ दिन, आव २०७७/७८ मा २ करोड ४६ लाख ६१ हजार बजेटबाट सात सय ७२ व्यक्तिले ५७ दिन, आव २०७८/७९ मा रु दुई करोड ५८ लाख १४ हजार स्वीस्कृत बजेटबाट आठ सय ८९ व्यक्तिले ७४ दिन रोजगार प्राप्त गरेका रोजगार संयोजक श्रीवास्तबले जानकारी दिए ।
आव २०७९/८० मा १ करोड ८९ लाख २४ हजार बजेटमा तीन सय ६७ व्यक्तिले ७९ दिन र चालु आव २०८०/८१ मा ५८ लाख २५ हजार बजेटबाट ९२ व्यक्तिले ९० दिन रोजगार प्राप्त गरेको उनले जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गोरेटो बाटो, खेलकुद मैदान निर्माण, घेराबारलगायतका काम भएका छन् । कार्यक्रमबाट स्थानीयवासीलाई आर्थिक रुपमा सहज भएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्