Shikhar Insurance

नयाँ अर्थमन्त्रीः बिष्णु पौडेल की शंकर पोखरेल ? यस्तो छ तयारी

सिंहदरबार संवाददाता
२०८१ असार १८, मंगलवार ११:१२
NIMB
Nabil Bank

काठमाडौं । संसदको पहिलो ठूलो दल नेपाली काँग्रेस र दोश्रो दल नेकपा(एमाले)बीच नयाँ सरकार गठन गर्ने औपचारिक सहमति पत्रमा हस्ताक्षर भैसकेको छ । सहमति अनुसार पहिलो चरणमा डेढ बर्षका लागि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् भने बाँकी डेढ बर्ष चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेर बहादुर देउवाले गर्नेछन् ।

सातमध्ये छ वटा प्रदेशका सरकारहरुको नेतृत्व पनि बराबर संख्यामा गर्ने र मधेश प्रदेशको नेतृत्व क्षेत्रिय दललाई दिने सहमति पनि उनीहरुबीच भएको छ । गृहसहित १० मन्त्रालयले काँग्रेसले लिने र अर्थसहित ९ मन्त्रालयको नेतृत्व एमालेले गर्नेछ । बाँकी मन्त्रालयहरु भने संबिधान संसोधनका सर्तमा सहमत हुने अन्य दलहरुका लागि छुट्याईएको छ ।

Citizen Life
Kumar Bank

अब प्रश्न उठ्छ, अहिले सबै भन्दा चासोका रुपमा लिईएको अर्थमन्त्रालयमा एमालेले कसलाई पठाउँछ । एमालेबाट मात्रै नभएर सिंगो निजी क्षेत्रका तर्फबाट अर्थमन्त्रीमा सर्वाधिक रुचाईएका पात्र हुन पूर्व अर्थमन्त्री बिष्णु पौडेल । उनकै पालामा सेयर बजारको सर्वाधिक उचाईको बिन्दु छोएको थियो । अहिले पनि पौडेल अर्थमन्त्री बन्ने चर्चा सुरुभएपछि सेयर बजारमा त्यसको प्रभाव देखिन थालिसकेको छ ।

के ओली सरकारमा पौडेल नै अर्थमन्त्री बन्छन् त ? यो प्रश्नको जवाफका लागि केहि समय पक्कै कुर्नुपर्नेछ । तर पनि पौडेल अर्थमन्त्रीका लागि स्वभाविक र सदावहार दावेदार भने हुन नै । तर अहिलेको गठबन्धन बनाउन भूमिका खेलेका एमाले महासचिव शंकर पोखरेल अर्थमन्त्री बन्ने अधिक सम्भावना रहेको स्रोतहरु बताउँछन् ।

एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र पोखरेल नै काँग्रेस–एमाले मिलनका मूल सेतु हुन् । ओलीले पनि आफ्नो राजनीतिक उत्तराधिकारीका रुपमा पोखरेललाई नै काखी च्याप्दै आएका छन् । तत्कालिन माधव नेपाल नेतृत्वको सरकारमा सञ्चार मन्त्री बनेका पोखरेल त्यसपछि भने संघीय सरकारमा जानबाट रोकिँदै आएका थिए । २०७४ सालको बाम गठबन्धनमा माओवादी नेता कृष्ण बहादुर महरा र शंकर पोखरेलबीच एउटै निर्वाचन क्षेत्रका लागि प्रतिष्पर्धा थियो । ओलीले महरालाई प्रतिनिधी सभाको टिकट दिएर पोखरेललाई प्रदेश सभामा बस्न कन्भिन्स गराएका थिए । पोखरेलले लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीका रुपमा करिब ३ बर्ष नेतृत्व गर्ने अवसर पाएका थिए ।

गत प्रतिनिधी सभाको निर्वाचनमा प्रचण्ड सरकारकी सञ्चार मन्त्री रेखा शर्मासँग पराजित भएपछि पोखरेलको संघीय मन्त्री बन्ने धोको फेरि अधुरै बनेको थियो । तत्कालिन माधव नेपाल नेतृत्वको सरकारमै पोखरेल अर्थमन्त्री बन्न चाहेका थिए तर प्रधानमन्त्री नेपालले सुरेन्द्र पाण्डेलाई रोजे । अर्थमन्त्री बनेर बजेट पढ्ने सपना बुनेर बसेका पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहँदा आफैं बजेट पढेर त्यो धोका केहि हदसम्म पुरा गरेका थिए । तर संघीय सरकारको बजेट पढ्ने उनको सपना भने अझै अधुरै छ ।
संबिधान संसोधनको शर्तसहित बनेको काँग्रेस–एमाले गठबन्धनमा एमाले महासचिव पोखरेल अर्थमन्त्री बन्ने प्रबल सम्भावना रहेको स्रोतहरु बताउँछन् ।

अहिले संघीय सरकारमा मन्त्री बन्नका लागि संघीय संसदको सदस्य हुनुपर्छ । संघीय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री बनाउने हो भने ६ महिनाभित्र संघीय संसदको सदस्य बनाईसक्नुपर्छ । काँग्रेस–एमाले गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका पोखरेलाई राष्ट्रिय सभामा कसरी लैजान सकिन्छ ? आगामी ६ महिनभित्र कुनै संसदीय क्षेत्र खाली गरेर पो सांसद बनाउन सकिन्छ की भन्ने बिषयमा पनि उच्चस्तरमा छलफल भैरहेको देखिन्छ । त्यस बाहेक संबिधान संसोधनकै क्रममा संसद नरहेको व्यक्ति पनि मन्त्री बन्न पाउने व्यवस्था थप्न सकिने बारे पनि छलफल भैरहेको छ ।

‘अर्थमन्त्री लागि लोकले रुचाएका पात्र बिष्णु पौडेल हुन् । तर एमाले महासचिव शंकर पोखरेलले अर्थमन्त्री बन्ने उत्कट चाहना राख्नु भएको छ । मुल नेतृत्व महासचिव पोखरेल प्रति सकारात्मक रहेको देखिन्छ ।’, एमाले उच्च स्रोतले सिंहदरबारलाई भन्यो ।
अहिले बिष्णु पौडेललाई अर्थमन्त्री बनाउँदा शंकर पोखरेलको राजनीतिक करिअरमा थप समस्या आउन सक्नेबारे ओली सचेत छन् । त्यसो त नेकपा कालमा बिष्णु पौडेलले केपी ओली र प्रचण्डलाई समदुरीमा राखेको तथ्य पनि पुरानो भएको छैन् ।

प्रचण्डकै प्रस्तावमा पौडेल शक्तिशाली नेकपाको महासचिव बनेका थिए । पौडेललाई महासचिव बनाउने प्रचण्डको प्रस्ताव केपी ओलीका लागि पनि सरप्राइजको बिषय बनेको थियो ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्