काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीमैत्री वातावरण बनाउन सबै राजनीतिक दलहरुको सहयोग आवश्यक रहेको बताएका छन् । उनले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे तीन मुख्य दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै यस्तो बताएका हुन् ।
मन्त्रालयमा आज भएको उक्त छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का महेश बर्तौला र नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डेसँग मन्त्री भण्डारीले छलफल गरेका हुन् । सो क्रममा उनले लगानी सहजीकरण सम्बन्धी कानुन लचकताका साथ संसद्बाट पास गर्न प्रमुख सचेतकहरुसँग आग्रह गरे । लगानीमैत्री वातावरण बनाउन सबै राजनीतिक दलको सहयोग आवश्यक रहेकाले सहयोगका लागि मन्त्री भण्डारीले उनीहरुलाई आग्रह गरे ।
कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्नो पार्टीका संशोधनकर्ता सांसदहरुसँग छलफल गरेर सहजीकरणको वातावरण बनाउने प्रतिबद्धता जनाए । उनले लगानी सहजीकरणका लागि केही बुँदा संशोधन गर्न आवश्य रहेको बताए । एमालेका प्रमुख सचेतक बर्तौलाले उद्योग कलकारखाना स्थापनाको विषय सबै दलको साझा ऐजेण्डा भएकाले सत्ता पक्ष र विपक्ष नभनीकन दलिय स्वार्थभन्दा माथि उठेर कानुन निर्माणमा जुट्नुपर्ने बताए । केही जटिल बुँदामा संशोधन आवश्यक रहेको उनको भनाइ थियो ।
माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संशोधन प्रस्ताव राख्नु उचित भए पनि समय अभावका कारण नगरी नहुने विषय मात्र संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए । छलफलका क्रममा वनसँग सम्बद्ध निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा जग्गा हदबन्दीका विषयमा संशोधन जरुरी रहेको औँल्याइएको थियो । उक्त छलफलमा सरोकारवाला मन्त्रालयका सचिवसमेत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्