काठमाडौं । नेपालको कर्मचारीतन्त्रको इतिहासमै पहिलोपटक मुख्यसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुख्यसचिव बैकुण्ठ अर्याल विरुद्ध मुद्दा दायर गरेको हो ।
सुरक्षण मुद्रण केन्द्रलाई अन्तशुल्क स्टीकर छपाई गर्न अनुचित हिसाबले रकम विनियोजन गरेको भन्दै सचिव विरुद्ध मुद्दा दायर भएको हो । मदिरा, चुरोट र वियरको बोतलमा टाँस्ने अन्तशुल्क स्टीकर छपाईमा लागत मूल्य भन्दा धेरै मूल्य बनाएर खर्च गर्ने प्रपञ्च गरिएको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।
आयोगले आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक रितेश शाक्य, तत्कालिन अन्तशुल्क महाशाखाका सहसचिव टंक प्रसाद पाण्डे, शक्ति प्रसाद श्रेष्ठ, बिष्णु प्रसाद गौतम, रविन्द्र प्रसाद पौडेल, विकल पौडेल, सफल श्रेष्ठ, गणेश विक्रम शाही, हरिबल्लभ घिमिरे लगायतलाई मुद्दा दायार भएको हो । सबै प्रतिवादी विरुद्ध ३८ करोड ६७ लाख १७ हजार रुपैयाँ विगो माग दाबी गरिएको छ ।
आयोगले मुख्यसचिव अर्याललाई थप मुद्दा लगाउने तयारी गरेको छ । आयोग स्रोत अनुसार आइताबार एक मात्रै मुद्दा दर्ता भएको छ । टेरामस्क खरिद प्रकृयामा भ्रष्टाचार भएको भन्दै आयोगले मुख्य सचिव अर्याल विरुद्ध मुद्दा दायर गर्न ठिक परेर बसेको छ । यस्तै, वाणिज्य सचिव रहँदा सुपारी केराउ र मरिचको कोटा प्रणाली लगाएर कमिसन खाएको विषयमा पनि आयोगले अनुसन्धान सुरु गरेको छ ।
अख्तियार स्रोतले सिंहदरबारसँग भन्यो, ‘मुख्यसचिव विरुद्ध भ्रष्टारको मुद्दा लगाउने विषयमा लामो समयदेखी बहस चलेको थिए, मुख्य सचिव विरुद्ध एक भन्दा धेरै मुद्दा लगाएर जेल नै पार्नेगरी आयोगले तयारी गरिरहको छ ।’ बहालवाला कर्मचारीहरुलाई मुद्दा लगाउने र विशेष अदालत छिटो-छिटो सफाई दिदाँ आयोगको मुद्दामाथी नै प्रश्न उठ्न थालेको सन्दर्भ छ । मुख्य सचिव विरुद्धको मुद्दा कमजोर नहुनेमा आयोग सचेत रहेको स्रोतको भनाई छ ।
टेरामस्क खरिद प्रकृयामा भ्रष्टाचार भएको विषयमा लामो समयदेखि आयोगले अनुसन्धान गरिरहेको थियो । खरिद प्रकृयामा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाली काँग्रेसमा नेता तथा पुर्व सुचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाल दूर संचार प्राधिकरणका कर्मचारीहरु सहभागी छन् । आयोग स्रोतका अनुसार खरिद प्रकृयामा सहभागी सबैलाई प्रतिवादी बनाएर आयोगले थप मुद्दा दायर गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्