काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थ विविध शिर्षकमा अत्यधिक बजेट विनियोजन गरेपछि अर्थ मन्त्रालयका कर्मचारीहरु दबाबमा आएका छन् । स्पष्ट कानुन भन्दा बाहिरबाट खर्च गर्न मिल्नेगरी ठूलो रकम बजेट विनियोजन भएपछि कर्मचारीहरुमाथी दबाब बढेको हो ।
अर्थ विविधमा भैपरी आउने खर्चका लागि पैसा राख्ने गरिएता पनि पछिल्लो समयका अर्थ मन्त्रीहरुले यसलाई आफ्नो महत्वकाँक्षा पुरा गर्नका लागि खर्चिने गरेका छन् । अर्थमन्त्रीको निर्देशनमा जथाभावी रकम खर्च लेख्नुपर्ने भएपछि भुक्तानी दिने, टिप्पणी उठाउने, निर्णय गर्ने कर्मचारीहरु दबाबमा आएका हुन् ।
मन्त्रालयका एक कर्मचारीले भने, ‘अर्थ विविधको रकम दुरुपयोग हुन थालेको छ, स्पष्ट कानुन बिना बजेट खर्च गर्दा अख्तियारले हामीलाई ताकेता गर्ने हो, यसका लागि आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ अनुसार कार्यविधि नै बनाउनु पर्ने आवश्यकता छ।’
अख्तियारले दायार गर्न मुद्दामा मन्त्रीलाई जोगाउने र कर्मचारीहरु मात्रै फस्न थालेपछि कर्मचारीहरुले छुट्टै कार्यविधि बनाउन दबाब दिएका हुन् । ७५ अर्ब ८३ करोड खर्च गर्न समान्य कार्ययोजना मात्रै बनाएर काम भैरहेको छ ।
अर्थ विविधमा धेरै रकम विनियोजन गर्ने र थप बजेट भन्दै जथभावी रकम बाढ्ने परिपाटी बढ्दै गएको छ । सबैको चित्त बुझाउने भन्दै अर्थ मन्त्रालयले बजेट निर्माण गर्दा स-साना तथा ठूलै योजनामा पनि थोरै बजेट राख्ने गरेका छन् ।
अन्य मन्त्रालय वा निकायले अर्थ मन्त्रालयमा पहुँच पुर्याउँदै लाखमा विनियोजन भएको भएको शिर्षकमा पनि अर्बमा बजेट निकासा गरी ठेक्का लगाउने परिपाटी बढेको छ । यस्तो ठेक्कामा अर्थ विवधको रकम दुरुपयोग हुने गरेको छ ।
के हो अर्थ विविध शिर्षक ?
अर्थ विविध शिर्षक बजेटको रातो किताबको ६०२ नम्बरमा छ । सरकारले भैपरी आउने खर्चका लागि यो शिर्षकमा रकम विनियोजन गर्ने अभ्यास गरेको छ । किनभने कतिपय खर्चका लागि बजेटमा शिर्षक राखेर विनियोजन गर्न मिल्दैन ।
उदाहरणका लागि प्रधानमन्त्री, राष्ट्रपति विशिष्ट व्यक्तिको भ्रमण खर्च, प्रकृति विपतिको खर्च, दण्ड जरिवाना फिर्ता, प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च यो शिर्षकबाट भुक्तानी गर्ने गरिन्छ । यस्तै, कर फिर्ता, भन्सार फिर्ता, आर्थिक सहायता, मुअब्जा वितरण, अथिति सत्कार, अन्य फिर्ता (वैदेशिक समेत), भवन खरिद निर्माण र सुधार, भौतिक सुविधा, महसुल तथा अन्य भुक्तानी, भैपरी आउने साधारण प्रशासन खर्च, विपद, राहत र पुन:स्थापना, संघिय संरचना पुर्वाधार विकास कार्यक्रम, अधुरा आयोजना कार्यन्वयन कार्यक्रम लगायतमा भुक्तानी दिन सक्ने कार्ययोजना छ ।
यी नियमित कामका लागि धेरै खर्च निस्कदैन तथा अर्थमन्त्रीले विभिन्न व्यक्ति तथा पार्टीलाई लाभ पुग्ने तरिकाबाट खर्च गर्ने परिपाटीले अर्थ विविधको रकम दुरुपयोगको जोखिम बढेर गएको छ ।
आर्थिक वर्ष २०८१/०८२ का लागि अर्थमन्त्री पुनले ७५ अर्ब ८३ करोड विनियोजन गरेका छन् । उनी भन्दा अघिका पुर्व अर्थमन्त्री प्रकाशशरण महतले यो शिर्षकमा ५७ अर्ब ३७ अर्ब बजेट विनियोजन गरेका थिए । पुर्वमन्त्री महत भन्दा पुनले १८ अर्ब ४५ करोड बढि बजेट विनियोजन गरेका हुन् । यो शिर्षकमा अर्थ मन्त्रीहरुले वर्षेनी बजेट बढाउँदै लगेपछि सदनमा विरोध समेत बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्