काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्तामा बुधबार पनि तीनै जना अनुपस्थित भएका छन् । बिहान ९ बजे बोलाइएको अन्तर्वार्तामा तीनै जना अनुपस्थित भएका हुन् ।
बोर्ड अध्यक्ष छनौट समितिले तीनै जनालाई निर्धारित समयभन्दा ३० मिनेट अगावै अर्थात बुधबार बिहान ८:३० बजेनै उपस्थित हुन सर्कुलर जारी गरेको थियो । तर बिहान ११:३० बजेटसम्म कुनैपनि उम्मेदवार नपुगेको आयोग स्रोतले सिंहदरबारलाई जानकारी दियो ।
स्रोतका अनुसार अन्तर्वाता लिन समिति संयोजक डा. मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्य उदय निरौला बिहान ८:३० बजे नै आयोगको सभाहलमा उपस्थित भैसकेका थिए । २ घण्टा ४५ मिनेट पर्खिदा पनि कुनै उम्मेदवार उपस्थित नभएपछि अर्थसचिव मधु मरासिनी सभाहलबाट १०:४५ बजे बाहिरिएका छन् ।
उनी आयोगबाट निस्किएर अर्थमन्त्रालय प्रवेश गरेका हुन् । छनौट समितिले पहिलो पटक शुक्रबार सूचना जारी गर्दै आइतबार (असार २ गते) उत्कृष्ट पाँचमा पुगेका सबै जनालाई अन्तरवार्ता र व्यवसायिक कार्ययोजना प्रस्तुतिकरणका लागि बोलाएको थियो ।
आइतबार उपस्थित नभएपछि समितिले आइतबार नै दोस्रो पटक सूचना जारी गर्दै बुधबारको लागि बोलाएको थियो । बुधबार कुनै पनि उम्मेदवार उपस्थित हुन नसक्ने स्रोतले बताएको छ । शुक्रबार सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठले व्यवसायिक कार्यपत्र प्रस्तुतिकरण र अन्तरवार्ता दिइसकेका छन् । यस्तै, कृष्ण बहादुर कार्की, डा. नवराज अधिकारी र चिरन्जीवी चापागाई अन्तरवार्ता दिन बाँकी रहेका छन् । यदि तीनै जना अनुपस्थित भएको खण्डमा बोर्ड अध्यक्ष छनोट प्रकृया स्वत रद्ध हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्