काठमाडौं । नेपाली काँग्रेसकी नेतृ आर्जु देउवा राणाले करको दरमा अर्थमन्त्री वर्षमान पुनले चलखेल गरेको आरोप लगाएकी छिन् । सिमित घरानालाई पोस्नेगरी करको दरमा परिवर्तन गरिएको भन्दै कर सिद्धान्त भन्दा बाहिर गएर करनिति बनाएको बताइन् । आइतबार प्रतिनिधि सभामा बजेट विषयमा बोल्दै सासंद राणाले अर्थमन्त्रीले अत्याचारी कर नीति लिएको बताइन् ।
उनले भनिन्, ‘धार्मिक ग्रन्थमा भनिएको छ, राज्यले कर यसरी उठाउनु पर्छ कि माहुरीले फुलबाट रस लिएझै लिनुपर्छ, माहुरीले फुललाई कुनै हानी गर्दैन । सुर्यले पृथ्वीबाट जति चिसोपना लिन्छ त्यो भन्दा धेरै गुणा तातोपना दिएको हुन्छ, सरकारले यसरी नै करनिति लिनुपर्छ ।’ आर्थिक वर्ष २०८१/०८२ का करका सिद्धान्तहरु नत धार्मिक ग्रन्थहरुबाट प्रभावित भएको, नत कुनै अर्थशास्त्रीय मान्यताबाट आएको सासंद राणाको भनाई छ ।
उनले थपिन्, ‘कर व्यवस्था न्यायसंगत हुनुपर्छ । तर अहिलेको बजेटले सिमित व्यावसायीलाई पोस्न ल्याएको जस्तो देखिन्छ, शंका उत्पन्न भएको छ । आयकर ऐन २०५८ को दफा ५७ लाई बहस र छलफल गरेर कार्यविधि र निर्देशिकाबाट पनि सम्बोधन गर्न सकिन्थ्यो । तर निहित स्वार्थ पुरा गर्नका लागि दफा ५७ को उपदफा १ लाई परिवर्तन गरिएको छ । जसले आयकरको मुल मर्मलाई नै बदलेको छ । जसबाट राजस्यले अर्बौं कर उठाउने बाटो बन्द भएको छ ।’
दफा ७५ को परिवर्तनले लाइसेन्समा आधारित कम्पनीहरु दुरसंचार कम्पनी, मदिरा, हाइड्रो पावर, मेडिकल कलेज जस्ता क्षेत्रमा सरकारले पुँजिगत लाभकर उठाउने बाटो नै समाप्त हुनसक्ने चेतावनी सासंद राणाले दिइन् । यस्तै, भन्सार बिन्दुमा नै अग्रिम १० प्रतिशत आयकरले जनतालाई थप महँगीको भार बोकाउने उनको भनाई छ । भन्सारमा अग्रिम १० प्रतिशत कर लिदाँ व्यवसायीले ४० प्रतिशतसम्म नाफा असुल गर्नुपर्ने हुन्छ । जुन कालाबजारी ऐन २०३४ विपरित छ ।
प्रतिक्रिया दिनुहोस्