काठमाडौं । द सेन्चुरियन होटल, बिराटनगर र नेक्सजेन म्यानेजमेन्टबीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल संचालन सम्बन्धमा सम्झौता भएको छ। सम्झौता जेठ ३० गते बुधबार सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा भएको हो ।
सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । विराटनगर धरान रोड स्थित शहरको केन्द्रविन्दुमा द सेन्चुरियन होटलको १० तल्ले भवन निर्माण सम्पन्न भइसकेको छ । भवनमा व्यवसायिक प्रयोजनका पसलहरू, सभा सम्मेलन, विवाह व्रतबन्धको लागि बैंकेट हल समेत उपलब्ध हुने र सोहि भवनको चार तल्ला देखि माथि पांच तारे स्तरको १४६ कोठाको र्याडिसन विराटनगर होटल संचालन हुने होटलले जनाएकाे छ ।
होटल संचालनको लागि अन्तर्राष्ट्रिय ब्राण्ड र्याडिसन होटल ग्रुपसँग जुलाइ २०२२ मा सम्झौता भइसकेको छ। नेपालका प्रतिष्ठित उद्योगपति तथा पूर्व मन्त्री मोतिलाल दुगडको नेतृत्वमा सेन्चुरी ग्रुप अफ कम्पनी अन्तर्गत यो पाँच तारे होटल संचालन हुनेछ । होटललाई पाँच तारे तथा अन्तर्राष्ट्रिय स्तरको बनाउन र अन्य थप आवश्यक निर्माण र साजसज्जाको लागि थप पूँजी आवश्यक पर्छ।सोहि उद्देश्यको लागि कम्पनीको पूँजी वृद्धि गर्न, थप संस्थापक लगानीकर्ता ल्याउन तथा अन्य आवश्यक व्यवस्था गर्न नेक्सजेन म्यानेजमेन्टसंग सम्झौता गरिएको हो ।
साथै, सोहि सिलसिलामा कम्पनीको पूँजी वृद्धि गर्न र सर्वसाधारणलाई सेयर निष्काशनको प्रावधान सहित लिमिटेड कम्पनीमा परिणत गर्ने प्रकृया पनि अगाडि बढाइसकेको छ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स पूर्व बैंकरहरू समेतको लगानीमा स्थापित सम्पत्ति ब्यवस्थापन र व्यवसायिक परामर्शदाता कम्पनी हो ।
प्रतिक्रिया दिनुहोस्